निङ्गलाशैनी र पञ्चकोटी फाइनलमा

Posted on: 29 Nov, 2019

मङ्सिर १३, बैतडी | निङ्लाशैनी क्रिकेट क्लब र पञ्चकोटी क्रिकेट क्लब शनिबार यहाँ जारी बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । उन्नाइसौँ संस्करणको बिडीसीए कपमा निङ्गलाशैनीले गत वर्षको विजेता कालाशैनी क्रिकेट क्लबलाई सात विकेटले तथा पञ्चकोटीले पाटन भ्याली क्रिकेट क्लबलाई १७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  

बुड्डाबाजे क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा कालाशैनीले दिएको १०४ रनको लक्ष्य निङ्गलाशैनीले १७ दशमलब तीन ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो । निङ्गलाशैनीका लागि गजेन्द्र बोहराले ३५ र खडक बोहराले २९ रन बनाए । बलिङतर्फ कालाशैनीका केशव साउँदले एक विकेट लिए । यसअघि ब्याटिङ गर्दै कालाशैनीले १७ ओभरमा सवै विकेट गुमाउँदै १०३ रन बनायो । कालाशैनीका लागि सन्तोश चन्दले १६ रन बनाए । बलिङतर्फ निङ्गलाशैनीका दीपक बोहराले पाँच विकेट लिए । उनी ‘म्यान अफ द म्याच’ घोषित भए । 

अर्को सेमिफाइनलमा पञ्चकोटीले पाटन भ्याली क्रिकेट क्लबलाई १७ रनले हरायो । टस जितेर ब्याटिङ गरेको पञ्चकोटी १९ दशमलब चार ओभर खेल्दै १०२ रनमा समेटियो । पञ्चकोटीका लागि डम्बर बुडालले सर्वाधिक २६ रनको योगदान दिए । बलिङतर्फ पाटन भ्यालीका सन्नी विष्टले तीन विकेट लिए । एक सय तीन रनको विजय लक्ष्य पछ्याएको  पाटन भ्याली १९ दशमलब पाँच ओभरमा सवै विकेट गुमाएर ८५ रनमा समेटियो । पाटनका लागि बसन्त भभट्टले १९ रन बनाए । बलिङतर्फ पञ्चकोटीका किसन बुडालले चार विकेट लिँदै म्यान अफ द म्याच भए । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले रु ३० हजार तथा उपविजेताले रु २० हजार पुरस्कार प्राप्त गर्नेछ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!