१३ औं सागको भव्य उद्घाटन (१० तश्वीरहरु)

Posted on: 01 Dec, 2019

मङ्सिर १५, काठमाडौँ ( रासस) | राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच  उद्घाटन गर्नुभएको छ ।

सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारीले व्यवस्थित र भव्यरुपमा सिँगारिएको दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा साँझ १७:५७ बजे प्रतियोगिता शुरुआत भएको घोषणा गर्नुभयो । 

राष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन भएको घोषणा भइरहँदा आतशबाजी र पटका पड्काएर समारोहलाई थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो ।


यसअघि समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको  एकता र मित्रता पनि हो ।”

मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्र्मा, सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग प्रतियोगिताको समग्र वस्तुस्थिति, महत्व र तयारीबारे जानकारी दिनुभएको थियो । 

समारोहमा सात हजार ५०० को सङ्ख्यामा रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ ।


समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालको नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइने  कार्यक्रम रहेको छ । मुलुकका सातै प्रदेश पुर्याएर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो । 

काठमाडौँ, पोखरा र जनकपुरमा  आजदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको छ । तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो । 

सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । 


सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ ।

सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा,  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायका विशिष्ट महानुभाव साग उद्घाटन समारोह कार्यक्रम अवलोकनका लागि रङ्गशाला पुग्नुभएको छ । 







माथिका तश्वीरहरु: काठमाडौँमा आइतबारदेखि शुरु भएको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी श्रीलङ्काका खेलाडी । तस्वीरः रत्न श्रेष्ठ/रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!