आइसीसी विश्वकप लिग दुईः ओमान शीर्ष स्थानमा

Posted on: 11 Feb, 2020

विक्रम गिरी | माघ २८, काठमाडौँ | आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमान अपराजित रहँदै लिगको शीर्ष स्थानमा उक्लेको छ । 

ओमानले यहाँ जारी सिरजिको अन्तिम खेलमा अमेरिकालाई ९२ रनले हरायो । ओमान चारवटै खेलमा विजयी हुँदै आइसीसी विश्वकप क्रिकेट लिग दुईको शीर्ष स्थानमा कायमै रहेको छ । ओमान हालसम्म खेलेको १० खेलमध्ये आठमा जित तथा दुईमा हार ब्यहोर्दै १६ अङ्कका साथ शीर्ष स्थानमा कायम रहेको छ । 

अमेरिका लिग दुईको दोस्रो स्थानमा छ । अमेरिकाले हालसम्म खेलेको ११ खेलमध्ये छ मा जित तथा पाँचमा हार खाँदै १२ अङ्क बटुलेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले आज टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरुआतमा ब्याटिङ गर्न पुगेको हो । ओमानले अमेरिकासामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओमानले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर २७६ रन बनायो । २७७ रनको विजय लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १८४ रन बनायो । 

ओमानका लागि अकिब इलियासले लगातार दोस्रो शतक प्रहार गरे । नेपालसितको खेलमा सोमबार अविजित १०९ रन बनाएका उनले अमेरिकासितको आजको खेलमा पनि १०५ रन बनाए । अकिबससँगै ब्याटिङमा आएका कप्तान जेशन मक्सुदले पनि शतक प्रहार गरे । अकिबले १२३ बल खेल्दै एक छक्का र ११ चौका प्रहार गरे । यस्तै मक्सुदले १०९ रन बनाए । उनले १०९ बल खलेर चार छक्का र १० चौका हाने । दुवै जनाले २१६ रनको कीर्तिमानी साझेदारी निभाए ।

अकिब र मक्सुदको उत्कृष्ट ब्याटिङका कारण ओमानले सम्मानजनक स्कोर खडा मात्र गरेन खेल आफ्नो पक्षमा पार्यो । अन्य खेलमा जस्तै ओमानले सस्तैमा प्रारम्भिक ब्याटस्म्यान गुमाएको थियो । जतिन्दर सिंह नौ तथा खवर अलीले १० रन मात्र बनाए । ओमानले ३१ रनको स्कोर छँदा दुई विकेट गुमाएको थियो । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका अकिब र मक्सुदले नै ओमानको पारी सम्हालेका थिए । यस्तै सन्दिप गौडले अविजित १३ रन बनाए । 

बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर र रुस्टी थेरनले तीन तीन विकेट लिए । सौरभले १० ओभर बलिङ गर्दै तीन मेडन राखी ३७ रन खर्चिएका थिए । रुस्टीले १० ओभरमा ६० रन दिए । अन्य बलरले भने विकेट लिन सकेनन् । 

जवाफी ब्याटिङ गर्ने क्रममा अमेरिकाले खराब शुरुआत गर्यो । अमेरिकाले तीन रनको स्कोर छँदा दुई विकेट गुमाएको थियो । मोनांक पटेल र स्टेभन टेलर रन नै नबनाइकन पभेलियन फर्के । अमेरिकाले ३९ रन बनाउँदा आफ्ना प्रारम्भिक ब्याटस्म्यान जेभियर मार्शललाई गुमायो । उनले ३९ बल खेल्दै एक छक्का र दुई चौकाका साथ २३ रन बनाए । टिमको स्कोर ७९ रन छँदा अमेरिकाले पाँच विकेट गुमाइसकेको थियो । 

भरपर्दा ब्याटस्म्यान इयान होल्याण्ड ३२ बल खेल्दै २८ तथा अक्षय होमराज व्यक्तिगत सात रनमा पभेलियन फर्के । अमेरिकाको पारीलाई आरोन जोन्स र निसर्ग पटेलले उकास्ने प्रयास गरे । आरोनले अविजित ४७ रनको योगदान दिए । उनी खेलेको अन्तिम समयसम्म संघर्षरत रहे । यस क्रममा उनले ७९ बल खेल्दै तीन चौका प्रहार गरे । 

यस्तै निसर्गले अर्धशतकीय पारी खेले । उनले ३६ बल खेल्दै चार छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाए । टिमको स्कोर १४९ छँदा निसर्ग पभेलियन फर्के । यससँगै अमेरिकाको लगातार विकेट पतन भयो । रुस्टी थेरनले ११ रन बनाउनुबाहेक अन्यले उल्लेख ब्याटिङ गर्न सकेनन् । बलिङतर्फ ओमानका लागि बिलाल खान र अकिब इलियासले तीन तीन, जिशन मक्सुदले दुई तथा मोहमद नदिमले एक विकेट लिए । बिलालले छ दशमलव एक ओभरमा २४ रन खर्चिए । अकिबले किफायती ब्यलिङ गरे । उनले पाँच ओभर बलिङगर्दै एक मेडन राखी मात्र १४ रन दिए । अकिब नै प्लेयर अफ दी म्याच घोषित भए । 

ओमान जारी सिरिजमा अपराजित रह्यो । उसले पहिलो खेलमा नेपाललाई १८ रनले हराएको थियो । दोस्रो खेलमा अमेरिकालाई छ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा नेपाललाई आठ विकेटले हराउन पुगेको थियो । आज सम्पन्न चौथो खेलमा अमेरिकालाई ९२ रनले हराएसँगै ओमानले नेपालमा जारी लिगमा शत प्रतिशत नजिता आफ्नो पक्षमा पार्न सफल भएको छ ।

अब नेपाल र अमेरिकाबीच सिरिजको अन्तिम खेल बुधबार बिहान साढे नौ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाल हालसम्म खेलको तीन खेलमध्ये दुईमा हार तथा एकमा जितका साथ दुई अङ्क बटुलेर लिगको छैटौँ स्थानमा छ । नेपालले पहिलो खेलमा अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!