पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने

Posted on: 29 Jun, 2020

असार १५, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय आज बन्द गरिने भएको छ । 

पूर्वसदस्य सचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । सिंहको ८८ वर्षको उमेरमा शुक्रबार छाउनीस्थित निवासमा निधन भएको थियो । उहाँले राखेपको सातौँ सदस्य–सचिव रूपमा २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ नेपाली फुटबल टोलीको पूर्वकप्तानसमेत हुनुहुन्थ्यो । 

स्वास्थ्य सामग्री हस्तान्तरण

राखेपले आफ्नो मातहतमा कार्यरत कर्मचारीलाई आइतबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । 

राखेप सदस्य–सचिव सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सामग्रीमा पिपिई, केएन ९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड, हेड गार्ड, जुत्ता, स्यानेटाइजर, चस्मा र पञ्जा छन् । कोभिड–१९ को जोखिमलाई ख्याल गरी सतर्कताका साथ काम गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको राखेपअन्तर्गत खेलकूद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपालीले जानकारी दिनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!