व्यायामशालालाई सामग्री हस्तान्तरण

Posted on: 04 Jul, 2020

असार २०, खस्यौली । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ दीपनगर चोकमा पहिलो खुला व्यायामशाला निर्माण हुने भएको छ ।

 दीपनगरमा निर्माण हुने व्यायमशालाका लागि आवश्यक सामग्री तथा उपकरण आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ । विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आज तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेलाई व्यायामशालाका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभयो । व्यायामको लागि चाहिने एक सेट उपकरणको मूल्य रु १० लाख रहेको छ ।

 विभागबाट प्राप्त सामग्रीलाई तोकिएबमोजिम व्यवस्थित तरिकाले जडान गरेर दीपनगरमा व्यायमशाला सञ्चालनमा ल्याइने नगरप्रमुख घिमिरेले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा अन्य स्थानमा समेत खुला व्यायामशाला बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

 कार्यक्रममा विभागका महानिर्देशक उपाध्यायले स्वस्थ जीवनका लागि शारीरिक व्यायामको भूमिका महत्वपूर्ण हुने भएकाले नगरपालिकालाई सामग्री सहयोग गरिएको बताउनुभयो । जनभावना माध्यामिक विद्यालय नजिकैको खुला स्थानमा बनाइने व्यायामशालामा एकपटकमा १० जनाले व्यायाम गर्न सक्नेछन् । नगर उपप्रमुख जागेश्वरी चौधरीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारका नसर्ने रोग बढेको बताउँदै स्वस्थ जीवनशैलीका लागि व्यायामशालाको महत्व अझै बढेको बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!