सीपीएल क्रिकेट: ट्रिनबागोको विजयी सुरुवात

Posted on: 19 Aug, 2020

भदौ ३, काठमाडौं । सुनिल नारिनको अलराउण्ड प्रदर्शनपछि ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

मंगलबार ट्रिनिडाड एण्ड टोबागोमा भएको खेलमा ट्रिनबागोले गुएना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको हो । वर्षाको कारण ढिला सुरु भएको खेल १७ ओभरमा छोट्याइएको थियो । जसमा गुएनाले टस हारेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

जवाफमा ट्रिनबागोले २ बल अगावै ६ विकेट गुमाएर १४७ रन बनाउँदै खेल जितेको हो । जितपछि ट्रिनबागोले २ अंक जोडेको हो । ट्रिनबागोको जितमा सुनिल नारिनले २८ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा ५० रन बनाए । यस्तै डारेन ब्राभोले ३० तथा लेन्डन सिमोन्स र कोलिन मनरोले समान १७ रन योगदान गरे । गुएनाका लागि नभिन उल हक र इमरान ताहिरले २-२ विकेट लिए ।

त्यसअघ ट्रिनबागोले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुएना अमेजनले शिमरोन हेतमायरको अर्धशतक मद्दतमा १४४ रन बनाएको थियो । हेतमायरले ४४ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा अविजित ६३ रन बनाए । यस्तै रोस टेलररे ३३ रन जोडे । ट्रिनबाऊका लागि सुनिल नारिनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!