आईपीएल १३: तेश्रो खेलमा आरसीबीसँग हैदराबाद १० रनले पराजित

Posted on: 22 Sep, 2020

असोज ६, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको आफ्नो पहिलो खेल तथा जारी आईपीएलको तेश्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ । 


आरसीबीले प्रस्तुत गरेको १ सय ६४ लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९.४ ओभरमा १५३ रन बनाउँदै अलआउट हुन पुगेको हो । योसँगै विराट कोहली आईपीएलमा कप्तानको रुपमा एक टोलीलाई ५० खेल जिताउने चौथो कप्तान बनेका छन् । यो सूचीमा गौतम गम्भीर, महेन्द्रसिंह धोनी र रोहित शर्माको पनि नाम छ ।


आरसीबीको जीतमा युजवेन्द्र चहल नायक बनेका छन् । उनले १८ रन खर्चेर ३ विकेट लिन सफल भए । उनले हैदराबादका जोनी ब्रेस्ट्रो र मनीष पान्डेको महत्त्वपूर्ण विकेट लिएका हुन् । दुवैले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । यो साझेदारी तोड्नु नै खेलको टर्निङ प्वाइन्ट बन्न पुग्यो ।

१६४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादको शुरुवाती खेल खराब रहन पुगेको थियो । कप्तान डेविड वार्नर मात्र ६ रन बनाएर आउट भए । ब्रेस्ट्रोले ६१ र पान्डेले ३४ रन बनाए । तर, हैदराबादका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसकेपछि टोली पराजित हुन पुग्यो ।


यसअघि आरसीबीका लागि आफ्नो डेब्यू खेलमा देवदत्त पडिक्कलले ५६ रन बनाए । त्यस्तै, एरोन फिन्चले २९ बनाउँदै पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे । त्यसपछि एबी डिविलियर्सले ५१ रनको योगदान दिए । आज चेन्नई र राजस्थानबीचको खेल हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!