कोलकातालाई हराउँदै पञ्जाब आईपीएलको चौथो स्थानमा

Posted on: 27 Oct, 2020

कात्तिक ११, एजेन्सी | अघिल्ला खेलमा कमजोर खेल खेलेको किङ्स इलाभेन पन्जाब आईपीएल टी-ट्वान्टी क्रिकेटको चौथो स्थानमा उक्लिएको छ । सारजाहमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गर्दै चौथो स्थानमा उक्लिएको हो ।

युएईको सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो ।

पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका गेलले २९ बलमा ५१ रन बनाए । उनले आईपीएलमा पन्जाबका लागि १ हजार रन समेत पूरा गरे । मन्दिप ६६ रनमा अविजित रहे । यस्तै कप्तान केएल राहुलले २८ रन बनाए । कोलकाताका लागि लक्की फर्गुसन र वरुण चक्रवर्तीले १ विकेट लिए ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरको खेलमा ९ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । कोलकाताका लागि शुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गनले ४० रनको योगदान गरे ।

खराब सुरुवात गरेको कोलकाताका लागि गिल र मोर्गनले चौंथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । यस्तै लक्की फर्गुसन २४ रनमा अविजित रहे ।

कोलकातालाई सस्तैमा समेट्न पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै रबि बिश्नोई र क्रिस जोर्डनले २/२ विकेट लिए । ग्लेन म्याक्स्वेल र मुरुगान आश्विनले १/१ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!