संक्रमित भएपछि सन्दीप लामिछाने अस्पताल भर्ना

Posted on: 01 Dec, 2020

मङ्सिर १६, काठमाडौं | कोरोना संक्रमित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने सोमबार अस्पताल भर्ना भएका छन् । शनिबार गरिएको परीक्षणपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

शनिबार उनले सामाजिक सञ्जालमार्फत सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएको र गम्भीर लक्षण नभएकाले घरमै आइसोलेसनमा बसिरहेको जानकारी दिएका थिए ।

सोमबार शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका हुन् । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले अस्पताल भर्ना भए पनि सन्दीपको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । 'कोरोना संक्रमित भएपछि होटलकै आइसोलेसनमा थिए । आज राति श्वासप्रश्वासमा समस्या देखिएका कारण बिहान अस्पताल भर्ना भएका हुन् । उनको अवस्था सामान्य छ,' टमाटाले सन्दीपसँग नियमित सम्पर्कमा रहेको बताएका छन्।

कोरोना महामारीकै बीच आयोजित क्यारबियन प्रिमियर लिग (सीपीएल) र इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताबाट फर्किएका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी हुने क्रममा थिए । छिट्टै उनी अस्ट्रेलियाको घरलु ट्वान्टी–२० प्रतियोगिता बिगबास लिग खेल्न जाँदैछन्। बिगबास लिगमा यसपालि उनले होबर्ट हरिकेन्सबाट खेल्नेछन्।

अस्पताल भर्ना भएपछि सन्दिपले ट्विट गर्दै भनेका छन् 'अलि अलि कम महसुस भएको छ । आशीर्वादका लागि सबैलाई धन्यवाद ।' 


यस बिषयमा तपाइको प्रतिक्रिया...!