नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

Posted on: 22 Apr, 2021

वैशाख ९, काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो । 

विश्व कीर्तिमान बनाउने क्रममा रहनुभएका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट हुनुभयो । उहाँले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाउनुभयो । 

यसअघिका तीन खेल(नेदरल्याण्डस, मलेसिया)मा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाउनुभएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुक्नुभयो । नेपालको पारिलाई कप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले सम्हाल्नुभयो । दुवै जनाबीच ७३ रनको साझेदारी भयो । सो क्रममा शेखले ४२ रनको योगदान दिनुभयो । उहाँले ३३ बल खेल्दै तीन छक्का र तीन चौका  हान्नुुभयो । यस्तै कप्तान मल्लले २५ बलमा एक छक्का र चार चौका हान्दै ४१ रनको योगदान दिनुभयो । 

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाउनुभयो । उहाँले १७ बलमा एक छक्का र पाँचा चौका हान्नुभयो । यस्तै करण केसीले उत्कृष्ट ब्याटिङ गर्नुभयो । उहाँले मात्र १३ बलमा ४५ रनको योगदान दिनुभयो । सो क्रममा केसीले सात छक्का प्रहार गर्नुभयो । यस्तै कुशल मल्लले अविजित १९ रन बनाउनुभयो । 

बलिङतर्फ मलेसियाका लागि फित्री साम, अनवर रहमान र सयद अजिजले दुईदुई तथा मुहम्मद वफिकले एक विकेट लिनुभयो । अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाले केही बेरअघिसम्म सात ओभरमा दुई विकेट गुमाउँदै ५७ रन बनाएको छ । 

नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिनुभएको हो । मलेसियाका लागि आजको खेल औपचारिकता मात्र हो । सिरिजका पुछारमा रहेको मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!