युरोकप: क्रोएसिया र चेक रिपब्लिकको बराबरी

Posted on: 18 Jun, 2021

असार ४, काठमाडौँ | जारी युरोकपको शुक्रबार राति भएको क्रोएसिया र चेक रिपब्लिकको खेलमा बराबरी नतिजा आएको छ । खेलको ३७ औं मिनेटमा चेक रिपब्लिकका प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए ।

सिकले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डेजान लोभ्रनले फल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइएको थियो । उनले लिभाकोभिचलाई गलत दिशामा पठाउँदै जारी युरोकपमा व्यक्तिगत तेस्रो गोल गरेका छन् । खेलको पहिलो हाफमा क्रोएसियाले केहि अवसरहरु सदुपयोग गर्न नसक्दा कुनै गोल स्कोर बनाउन सकेन तर दोस्रो हाफको सुरुवातमा नै क्रोएसियाले बराबरी गोल फर्कायो । क्रोएसियाका पेरिसिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट पोस्टतर्फ गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । खेलमा क्रोएसिया र चेक रिपब्लिकले बराबरीमै रोकिए । 


यो बराबरीसँगै चेकले समूह डीको शीर्षस्थानमा २ खेल खेल्दै ४ अंक जोडेको छ भने क्रोएसिया १ अंकका साथ तेस्रो स्थानमा छ । 

आजै भएको खेलमा स्वीडेनले स्लोभाकियालाई पराजित गरेको थियो । स्लोभाकियामाथि १–० को जित निकाल्दै स्वीडेन समूह इ को शीर्षस्थानमा पुगेको छ । सेन्ट पिटर्सबर्गमा शुक्रबार भएको खेलमा स्वीडेनको जितमा इमिल फोर्सबर्गले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । उनले ७७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलमा जितसँगै समूह ‘ई’ मा स्वीडेन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लँदा पराजित स्लोभाकिया २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा झरेको छ । 

अब अर्को खेल १२:४५ बजे ३ अंक जोडेको इंग्ल्यान्ड र स्कटल्यान्डबीच हुँदैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!