ईपीएलको प्ले अफ समीकरण पूरा

Posted on: 05 Oct, 2021

असोज १९ , काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल)  ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्ले अफ समीकरण पूरा भएको छ।

लिग चरणको काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडियटर्स बीचको मंगलबारको अन्तिम खेल रद्द भएसँगै प्ले अफ समीकरण पूरा भएको हो। सोमबार भारी वर्षासँगै भिजेको मैदानको आउट फिल्डको कारण मंगलबारको खेल हुन नसकेपछि काठमाडौं र भैरहवाले अंक बाँडेका हुन्।

खेल रद्द भएसँगै काठमाडौं प्लेअफमा पुगेको छ। साविक विजेता ललितपुर पेट्रियाट्स र काठमाडौंको समान ३ अंक भए पनि रनरेटका आधारमा काठमाडौं प्लेअफमा पुग्न सफल भएको हो। ललितपुर र विराटनर वारियर्स लिग चरणबाटै बाहिरिका छन्।

लिग चरण सकिएसँगै चितवन टाइगर्स ८ अंकबाट शीर्ष स्थानमा रहन सफल भयो भने ७ अंकबाट भैरहवा ग्लाडियटर्स दोस्रो भयो। ७ अंकको पोखरा राइनोज रन रेटका आधारमा तेस्रो हुँदा ३ अंकको काठमाडौं चौथो भयो।

बुधबार पहिलो क्वालिफायरमा चितवन र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । जित्ने टिम फाइनलमा पुग्नेछ भने हार्ने टिमले इलिमिनेटरको विजेतासँग बिहीबार दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ। बुधबारकै इलिमिनेटरमा पोखरा र काठमाडौं दिउँसो साढे १ बजे खेल्नेछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!