लमजुङमा राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिता हुने

Posted on: 08 Nov, 2021

कात्तिक २२, लमजुङ | गत वर्ष कोरोनाका कारण स्थगित भएको त्रिवेणी कप फुटबल प्रतियोगिता यस वर्ष हुने भएको छ । बेँसीशहरस्थित त्रिवेणी युवा क्लबले सहजी रंगशालामा २९औँ त्रिवेणी कप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । आगामी १२ पुसदेखि त्रिवेणी कप फुटबल प्रतियोगिता संचालन गरिने क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।

नयाँ कार्यसमितिको १३ कात्तिकमा आयोजना गरिएको तेस्रो बैठकले त्रिवेणी कप फुटबल प्रतियोगतालाई निरन्तरता दिने निर्णय गर्दै खेल संचालनका लागि अध्यक्ष विनोद गुरुङको संयोजकत्वमा २३ सदस्यीय मूल आयोजक समितिसमेत गठन गरिएको छ । जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता संचालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिएको क्लबका अध्यक्ष गुरुङले बताए । उनले भने, 'खेलले पर्यटनको विकास र युवाहरूलाई अनुशासित र मर्यादित बनाउनसमेत सहयोग पुग्नेछ ।' 

त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद तीन लाख रुपैयाँ त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, दोस्रो हुने समूहले रजत पदकसहित नगद एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०/५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५/१५ हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई समेत नगद १० हजार रुपैयाँ बराबरको ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!