चितवनमा तीन अर्ब ३५ करोड राजस्व सङ्कलित

Posted on: 23 Apr, 2017

वैशाख १०,चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब रु तीन अर्ब ३५ करोड बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका कर अधिकृत जीवराज निरौलाका अनुसार गत आवको ९ महिनामा करिब रु सात अर्ब ७१ करोड राजस्व सङ्कलन भएकामा चालु आवको नौ महिनामा करिब रु ११ अर्ब छ करोड राजस्व सङ्कलन भएको हो । 

गत आव २०७२/७३ को चैत मसान्तसम्ममा भने विभागले दिएको लक्ष्यभन्दा कम मात्रामा राजस्व सङ्कलन भएको थियो । गत आवको चैतसम्ममा विभागले कार्यालयलाई करिब रु आठ अर्ब १७ करोड लक्ष्य तोकेको थियो । भूकम्प र नाकाबन्दीका कारण सो वर्ष लक्ष्यभन्दा कम करिब रु सात अर्ब ७१ करोड मात्र राजस्व सङ्कलन भएको थियो । त्योे दिइएको लक्ष्यको ९४ दशमलव ३८ प्रतिशत मात्र हुन आउँछ । 

यस्तै चैत महिनाका लागि मात्र करिब रु एक अर्ब २० करोड सङ्कलनका लागि लक्ष्य दिइएको थियो । सो समयमा करिब रु एक अर्ब २५ करो राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । चैत महिनामा मात्रै राजस्व सङ्कलनको दर बढी भए पनि वर्षभरि नै अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको कर अधिकृत निरौलाले जानकारी दिनुभयो । 

चालु आवको नौ महिनामा लक्ष्यभन्दा करिब रु ८८ करोड ७० लाख बढी राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार विभागले कार्यालयलाई चैत मसान्तसम्मका लागि करिब रु १० अर्ब १७ करोड लक्ष्य तोकेको थियो । सो लक्ष्यभन्दा बढी करिब रु ११ अर्ब छ करोड सङ्कलन गरिएको हो । 

आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख थानप्रसाद पङ्गेनीले लक्ष्यभन्दा बढी राजस्व सङ्कलनका लागि उद्योगी व्यवसायीसँग गरिएको निरन्तर अन्तक्र्रियात्म, बजार अनुगमन, कर सचेतनाका कार्यक्रम, करदाता शिक्षा, करदाता स्वयम्को जागरुकता, कर्मचारीको निरन्तर कामप्रतिको लगाव मुख्य कारण बताउनुभयो । सो कार्यालयले चितवन र नवलपरासीको दाउन्नेयताको भाग हेर्दै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!