रुकुमको अति दुर्गम आठविसकोटमा पहिलो पटक इन्टरनेट

Posted on: 03 Dec, 2017

मंसिर १७, रुकुम | (रासस) |  जिल्लाको सबैभन्दा दुर्गम नगरपालिकामा आठविसकोटमा पहिलो पटक इन्टरनेट जडान भएको छ । 

रुकुम(पश्चिम)को यो नगरपालिकाले पहिलो पटक आफ्नै पहलमा इन्टरनेट जडान गरेको हो । नगरपालिकाको रु एक लाख भन्दाबढीको लगानीमा पहिलो पटक नगरपालिकाको कार्यालय तथा वडा नं ९ र १० को कार्यालयमा इन्टरनेट जडान गरिएको हो । 

एभरेष्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड जाजरकोटले नगरपालिकाको कार्यालयसहित २ वडाको कार्यालयमा इन्टरनेट जडान गरिदिएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो । 

जिल्लाका अन्य स्थानीय तहको तुलनामा विकट मानिएको आठविसकोटमा इन्टरनेट जडान गरिएपछि कामकाजमा सहजता आएको प्रमुख केसीको भनाइ छ । 

नगरपालिकाले विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका विद्यालयमा सिसी क्यामेरा र डिजिटल हाजिरीको व्यवस्था गर्न लागेकाले त्यसका लागि इन्टरनेट आवश्यक भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!