धवलागिरिका ८० ठाउँमा ‘थ्रिजी’ सेवा

Posted on: 17 Jun, 2018

असार ३, बागलुङ (रासस) | धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ । हाल ८० ठाउँबाट ‘थ्रिजी’ सेवा सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ । गत वर्ष जम्मा २१ ठाउँमा मात्र ‘थ्रिजी’ सेवा थियो । सबैभन्दा बढी बागलुङका ४० ठाउँबाट सेवा दिइएको टेलिकमको बागलुङ कार्यालयले जनाएको छ । 

यस्तै, म्याग्दीमा १६, पर्वतमा १४ र मुस्ताङमा १० स्थानमा सेवा पुगेको छ । सेवा विस्तारले चारै जिल्लाका अधिकांश क्षेत्रमा ‘थ्रिजी’ को पहुँच पुगेको छ । हाल रहेको ‘टुजी’ सेवालाई पनि स्तरोन्नति गरी सेवा दिइएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो । चारै जिल्लामा गरी ११४ स्थानबाट ‘टुजी’ सेवा सञ्चालनमा छ । “डाटाको खपत हेरेर थ्रिजी सेवा थप्ने गरेका छौँ”, इन्जिनियर शर्माले भन्नुभयो । 

टेलिकमले ग्राहकको माग र डाटाको खपत पनि बढी हुने ठाउँमा ‘थ्रिजी’ सेवा विस्तार गर्ने गरेको छ । ‘थ्रिजी’ सेवाले डाटा र भ्वाइस दुवैमा सुधार आएपछि ग्राहक पनि सन्तुष्ट छन् । ‘थ्रिजी’ नभएको ठाउँमा पनि ‘टुजी’ सुधार गर्दा सेवा प्रभावकारी बनेको इन्जिनियर शर्माको भनाइ छ । इन्टरनेट प्रयोगकर्ताहरुले विगतको भन्दा बढी क्षमतायुक्त र तीव्र गतिको ‘थ्रिजी’ सेवा पाएको कार्यालयका इन्जिनियर अमृत नेपालले बताउनुभयो । 

‘थ्रिजी’ प्रविधिमार्फत ‘भिडियो ’, ‘भिडियो÷भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवाहरु ग्राहकले पाइरहेका छन् । टेलिकमले दुई वर्ष अघिदेखि नयाँ प्रविधियुक्त ‘थ्रिजी’ सञ्चालनमा ल्याएको थियो । पुरानो प्रविधिको ‘थ्रिजी’ लाई पनि स्तरोन्नति गर्दै लगिएको टेलिकमले जनाएको छ । मागअनुसार अन्य ठाउँमा पनि ‘थ्रिजी–बिटिएस’ जडानको काम अघि बढेको इन्जिनियर नेपालले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!