भीमदत्त नगरपालिकाका १० वडामा इन्टरनेट

Posted on: 12 Jul, 2018

राजेन्द्र पनेरु/असार २८, कञ्चनपुर | भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ ।

नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो । 

नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र नगरपालिका कार्यालयलाई इन्टेरनेटबाट जोड्ने र इ–गभर्नेन्सको अवधारणाअनुरुप काम कारबाही डिजिटल गर्ने उद्देश्यले सबै वडामा इन्टरनेट जडान गर्न थालिएको नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । 

“पेपरलेस र डिजिटललाइजेशन गर्ने लक्ष्यअनुसार वडामा ई सूचना प्रणालीसमेत जडान गर्ने कार्यलाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । यसअन्तर्गत भीनपा कार्यालयमा टिभी जडान गरिएको छ । 

चालु आर्थिक वर्षभित्र खुला मञ्चमा एलइडी टिभी राख्ने अर्को वर्ष गड्डाचौकी र भाँसीमा पनि विस्तार गर्ने योजना बनाइएको छ । 

एलइडी टिभीबाट नगरपालिकाबाट प्रदान हुने सेवा सुविधासम्बन्धी जानकारी गराइने तथा सूचना र विज्ञापन प्रशारणसमेत गरिने बताइएको छ । 

मोबाइल एप्स 

उक्त नगरपालिकाले सबै सेवा सुविधा मोबाइलमार्फत जानकारी पाउन सक्नेगरी मोबाइल एप्स तयार गरेको छ । गुनासा र सुझाव पनि दिन सकिने गरी सो एप्स तयार गरिएको हो । 

मोइबाल एप्समा नगरपालिका कार्यालयबाट प्रदान हुने सबै सेवा सुविधा, सूचना र जानकारी राखिएका छन् । यसको प्रयोगका लागि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर अंग्रेजीमा भीमदत्त मुनिसिपालिटी डाउन गरी हेर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विनय कलौनीले बताउनुभयो । 

यसैगरी नगरपालिकाले क्लिन सिटी ग्रिन सिटी र टुरिज्मको मोबाइल एप्स बनाउने भएको छ । यसका लागि तयारी शुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

नगरपालिकामा ई–हाजिरी 

भीमदत्त नगरपालिकामा कर्मचारीलाई कार्यालय समयमा नियमित गराउन विद्युतीय हाजिरी (ई–हाजिरी) शुरु गरेकोे छ । 

कर्मचारीलाई निर्धारित समयमा कार्यालय आउन र जानका लागि उक्त नगरपालिकाको सातौँ बैठकले ई–हाजिरी शुरु गर्ने निर्णय गरेको थियो । 

नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तहको निर्वाचनमा नगरपालिकाका सबै सेवा सुविधालाई कागजविहीन बनाएर विद्युतीय प्रणालीमा लैजाने प्रतिबद्धताअनुसार कार्यालयबाट ई–हाजिरी शुरु गरिएको बताउनुभयो । 

रु नौ करोडको लागतमा खानेपानी आयोजना शुरु 

शुक्लाफाँटा नगरपालिका– ८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणका लागि बोरिङ गर्न थालिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार ७०० घरधुरी लाभान्वित हुने वडा नं ८ का वडा अध्यक्ष बहादुर महराले बताउनुभयो । 

“चुरे फेदीको बस्ती भएकाले गर्मीका बेला खोला सुक्ने गरेका छन्”, उहाँले भन्नुभयो, “नदी र खोलाको पानीसमेत सुक्छ । स्थानीय बासिन्दाले शुद्ध पानीका लागि निकै सास्ती खेप्नुपर्ने भएकाले आयोजना निर्माणको कार्य अगाडि बढाइएको हो ।” आयोजना निर्माणपछि सर्वसाधारणले सहजरुपमा शुद्ध पानी पाउने उहाँले बताउनुभयो । आयोजना निर्माणको कार्य अगाडि बढेपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!