नेपाल टेलिकमले भोलिदेखि ३ महिनाका लागी यस्तो अफर ल्याउँदै, के के छन् विशेषता ? हेर्नुहोस्

Posted on: 16 Sep, 2018

भदौ ३१, काठमाण्डौ | नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ । 

कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको टेलिकमले जनाएको छ ।

पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने भएको छ । हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुने टेलिकमले जनाएको छ । 

५१२ केबीपीएसको महसुल दर प्रति महिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १ देखि १० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएस भन्दा माथिको महसुल दर प्रति एमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको छ । उल्लिखित दरमा थप कर लाग्ने छ ।

त्यसैगरी असोज १ देखि आगामी मंसिर २९ गते सम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफर अन्तर्गत अनलिमिटेड डाटा प्याकेज लगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यस अन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम वेस्ड प्याकेजमा थप कर लाग्नेछ । 

सो अनुसार ब्यक्तिगत प्रयोगकर्ताहरुलाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराइने छ । सो प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाहरुका लागि यही क्षमताको प्याकेज १ हजार रुपैयाँमा उपलब्ध गराइने छ । 

त्यसैगरी २ एमबीपीएस गति सम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ । 

१ बर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने छ । 

वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोंगल सहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १ बर्षका लागि ६ हजार रुपैयाँमा २५० जीबी भोल्युम उपलब्ध गराइने छ । यस अन्तर्गत यूएसबी डोंगल निःशुल्क उपलब्ध गराइने छ । 

यसैगरी संविधान दिवस २०७५’ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ । असोज १ देखि १५ गते सम्म कर सहित रु. १८।– मा सो प्याक खरिद गर्न सकिने छ । प्याक खरिद गरे पश्चात ७० मिनेट सम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!