दोलखामा जन्ती बोकेको बस दुर्घटना: ३५ जना घाइते, ६ जनाको अवस्था गम्भीर

Posted on: 18 Jan, 2019

माघ ४, दोलखा | दोलखाबाट सिन्धुलीतर्फ जन्ती लिएर जादै गरेको बस आज विहान दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

दोलखाको तामाकोसी गाउँपालिका-४ मालुबाट विवाहको जन्ति लिएर सिन्धुलीतर्फ जाने क्रममा अरनिको यातायातको बा२ख ३७६० नम्बरको बस शुक्रबार बिहान योगीगाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ६ जनालाई थप उपपचारका लागि सदरमुकाम चरिकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

प्रहरी र स्थानीयको सहयोगमा घाइतेको उद्धार गरी ग्रामीण स्वास्थ्य सेवा केन्द्र तामाकोसी गाउँपालिका-४, डाँडागाउँमा प्राथमिक उपचार गरी थप उपचारका लागि सदरमुकाम चरिकोट ल्याउँदै गरिएको प्रहरी दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव काफ्ले जानकारी दिए।

बेहुला सवार गाडी र स्थानीयको अन्य गाडीबाट समेत घाइतेको उद्धार भइरहेका कारण दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको निरीक्षक काफ्लेले जनाए।

ओरालोमा थप जन्ती पर्खिरहेको बस अघि बढ्ने क्रममा  एक्कासी पछाडीतर्फ गुडेर करिब ३० मिटर तल गुल्टिएको प्रहरीले जनाएको छ। 

मालुका गोविन्द मिजारको कान्छो भाइको विवाहमा जान लागेका जन्तिहरु दुर्घटनामा परि घाइते भएका हुन् । छुट्टै बोलेरोमा भएका कारण बेलुहा भने सुरक्षित छन् । बसमा करिब ५० जना सवार थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!