क्यान इन्फोटेक २०१९ माघ १५ देखि २० सम्म, नयाँ–नयाँ प्रविधिको अवलोकन सँगै जागिरको अवसर पनि

Posted on: 24 Jan, 2019

माघ १०, काठमाडौं | सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तिन वर्षपछि सन् १९९५ देखि आयोजना गर्दै आएको क्यान इन्फोटेकलाई यो वर्ष पनि निरन्तरता दिएको हो । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।

काठमाडौ बाहिर प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३, प्रदेश २ को वीरगन्जमा पुस २७ देखि ३०, प्रदेश ३ को चितवनमा माघ २५ देखि २९, गण्डकी प्रदेशको पोखरामा फागुन २४ देखि २८, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ सम्म प्रादेशिक इन्फोटेक आयोजना गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । मेलालाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । यसपटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास गरिएको छ । त्यस्तै, नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनमा राखिनेछन् ।

क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याएको छ । मेलामा प्रत्येक तीन/तीन घण्टामा चिठ्ठामार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर र  एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । मेलामा कुनै पनि पुराना इलेक्ट्रोनिक सामान लगेर अवलोकनकर्ताले आकर्षक गिफ्ट या अर्को सामानमा छुटसमेत प्राप्त गर्न सक्नेछन् । 

त्यस्तै, नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिनेछ । सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषय अध्ययनरत विद्यार्थीले मेलास्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आईटी कम्पनीहरुमा पठाइदिनेछ र रोजगारीका लागि आवश्यक सहजीकरण गरिदिनेछ ।

२५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा.लि. हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रा.लि. हो । त्यस्तै, सिल्भर स्पोन्सरमा एसएचटिसी इन्टरनेसनल, एस–पावर बिपिई प्रा.लि. र लर्डबुद्ध एजुकेसन फाउन्डेसन रहेका छन् भने अफिसियलमा नेपाल टेलिकम र नेपाल क्लियरिङ हाउस लिमिटेड रहेका छन् । त्यस्तै, अफिसियल बैंक प्रभु बैंक, अफिसियल पेमेन्ट पार्टनर F1 Soft, अनलाइन टिकेटिङ पार्टनर ई सेवा, अफिसियल SMS पार्टनर Sparrow SMS, अफिसियल ISP- SUBISU रहेको छ ।

क्यान इन्फोटेकको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स लिमिटेड हो । प्रभु इन्स्योरेन्सले प्रदर्शनीस्थल र स्टलको २ करोड रूपैयाँबराबरको बिमा गर्नेछ । त्यस्तै, कम्पनीले प्रत्येक स्टललाई पाँचवटा बिमा पोलिसी प्रदान गर्नेछ ।

कुल १७५ वटा स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहनेछन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रूपैयाँ र विद्यार्थीलाई ५० रूपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रूपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

आमजनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित मेलामा अनलाइन टिकटको व्यवस्था मिलाइएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्देश्यले अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट प्रदान गरिएको छ । अनलाइन टिकट ई सेवाबाट खरिद गर्न सकिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!