जनकपुरमा टेलिकमको एफटीटीएच सेवा

Posted on: 13 Apr, 2019

चैत ३०, धनुषा (रासस) | जनकपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा शुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनकपुरधाममा एफटीटीएच सेवाको शुरुआत गर्नुभयो । 

मन्त्री बाँस्कोटाले एफटीटीएचमार्फत प्रदेश नं २ का सचिव दीपक सुवेदीलाई टेलिफोन कल गरी सेवाको शुरुआत गर्नुभएको हो । उक्त कार्यक्रममा मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणालाई साकार बनाउँदै राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्नका लागि नेपाल टेलिकमले सधैँ सरकारलाई साथ दिनुपर्ने बताउनुभयो । उहाँले आगामी वर्ष धेरै आयोजना सम्पन्न गर्नुपर्ने भएकाले नेपाल टेलिकमको लागि समृद्धिको वर्ष हुने र कम्पनीको सेवाप्रति आम ग्राहकको उच्च आस्थालाई निरन्तरता दिनका लागिसमेत कम्पनी थप ग्राहक मुखी हँुदै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको विकासका लागि सरकारले अवलम्बन गरेको नीतिलाई सफल बनाउन आफ्नो क्षेत्रबाट सशक्त योगदान दिन नेपाल टेलिकम कटिबद्ध रहेको बताउनुभयो । उहाँले कम्पनीका सेवा विस्तारसँगै बजारीकरणलाई पनि थप मजबुत बनाउँदै लगिने जानकारी दिनुभयो । सोही अवसरमा नेपाल टेलिकमको वीरगञ्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवा विस्तार समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो अवसरमा नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा केन्द्रका निर्देशक प्रमोदकुमार परमारलगायत कर्मचारीको समेत उपस्थिति थियो । जनकपुरमा हाल दुई हजार लाइनको एफटीटीएच जडित क्षमता रहेकामा २४० लाइन वितरण भइसकेको र निकट भविष्यमा थप लाइन जडान तथा वितरण गर्ने कार्यक्रम छ । जनकपुर क्षेत्रमा आठ एमबीपीएस देखि ५५ एमबीपीएससम्मको इन्टरनेट सेवा उपलब्ध गराइने छ । वित्तीय संस्थालाई लिज लाइनको व्यवस्था पनि फाइबरबाट उपलब्ध गराइने छ । एक वर्षका लागि आठ एमबीपीएसको प्याकेज रु आठ हजार ५०० मा उपलब्ध गराइने छ । यसवापत एक थान वाइफाई राउटर र १०० मिटरसम्म फाइबर निःशुल्क उपलब्ध गराइने छ ।

 नयाँ लाइन जडानको समयमा भ्वाइस सेवा तीन महीनाका लागि निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ । हाललाई यो सुविधा जनकपुरको भानुचोकदेखि शुभचोक, रेलवे स्टेसन, वकिल टोल एरिया र विद्यानगरसम्म उपलब्ध गराइने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!