अन्तरीक्ष केन्द्रमा नेपाली स्याटलाइट सफलतापूर्वक जोडियो

Posted on: 22 Apr, 2019

बैशाख ९, काठमाडौं–अन्तरीक्षका लागि प्रक्षेपण गरिएको ‘नेपाली स्याटलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गने तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो ।

जापानमा विद्यावारिधि गरिरहनु भएका नेपाली बैज्ञानिकद्धय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको सो नेपाली स्याटेलाइट वान गत बैशाख ५ गते अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रका लागि पठाइएको थियो । 

सो स्याटलाईट ३६ घण्टा ४० मिनेटपछि बैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढंगेलले जानकारी दिए । 

 अवको करिव डेढ महिना पछि सो नेपाली स्याटलाईटले अन्तरीक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ ।

नाष्टले सो नेपाली स्याटलाईट अन्तरिक्षमा प्रक्षेपणका लागि करिव २ करोड लाग्ने अनुमान पनि गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!