इन्टरनेटले कामकाज सहज

Posted on: 26 Apr, 2019

वैशाख १३, बेझाड (रासस) | रामपुर नगरपालिकाका सबै वडा कार्यालयमा इन्टरनेट सेवा शुरु भएको छ । नगरका १० वटै वडा कार्यालयमा यसै आर्थिक वर्षदेखि इन्टरनेटबाट सेवा दिन थालेपछि कार्यालयको कामकाज सहज भएको कर्मचारी बताउँछन् । इन्टरनेटको सुविधा बिस्तार भएपछि नगरपालिकाको सूचना सबै वडा कार्यालयसम्म पुर्याउन सजिलो भएको हो ।

अनलाइन पञ्जीकरण सेवा, सामाजिक सुरक्षाभत्ताको लगत राख्नेलगायतका काम सहजरुपमा सञ्चालन गर्न वडा कार्यालयमा इन्टरनेटको बिस्तार गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“वडादेखि नगरका कामकाज विधिसम्मत तरिकाले गर्न र नागरिकलाई सहज सेवा दिन इन्टरनेट सेवा जडान गरिएको छ”, उहाँले भन्नुभयो । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्पनीमार्फत वडा नं १, २, ३, ४, ८, वडा नं १० मा ‘वायरलेस’ र ५, ६ र ७ नम्बरमा फाइवर नेट जडान गरिएको छ । त्यस्तै ९ नं वडामा नेपाल टेलिकमको वाई म्याक्स प्रविधि जडान गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत महेन्द्र श्रेष्ठले बताउनुभयो ।

यस्तै निस्दी गाउँपालिकामा सातवटै वडामा इन्टरनेटको पहुँच पुगेको छ । जिल्लाकै विकट र दुर्गम मानिएको यस गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा पुगेपछि काम गर्न सहज भएको कर्मचारी बताउँछन् । वल्र्डलिङ्क कम्पनीमार्फत वडा नं १ बाहेक सबै वडामा वायरलेसमार्फत इन्टरनेट जडान गरिएको छ । गाउँपालिकाको वडा नं १ मा भने कस्मीकले आफ्नो सेवा दिइरहेको वडाध्यक्ष पूर्णबहादुर खाँणले जानकारी दिनुभयो ।

वडा वडामा इन्टरनेट सेवा जडान गर्न यस आर्थिक वर्षमा प्रत्येक वडामा रु ३० हजार रकम विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले  बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!