नेपालमै पहिलोपटक बागलुङमा टेलिकमको फाइबर सेवा शुरु

Posted on: 15 Jul, 2019

असार ३०, गलकोट । नेपाल टेलिकमले देशमै पहिलोपटक बागलुङ बजारबाट आफ्नो सेवालाई पूर्णतः फाइबर तारयुक्त बनाएको छ । 

टेलिकमले बागलुङ बजारमा पहिलोपटक नमूनाका रुपमा आफ्ना सेवालाई गुणस्तरीय बनाउनका लागि कपर प्रविधि (तामाका तार) को प्रयोग हटाई पूर्णतः फाइबर तारको प्रयोग गर्नेगरी ‘फाइबर टु दि होम’ सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम बागलुङले जनाएको छ ।

 टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनका रुपमा जमीनमुनि र शाखा लाइनका रुपमा पोलको प्रयोग गरेर सेवाग्राहीको घरसम्म फाइबर तार बिछ्याउने काम शुरु गरेको थियो । नेपाल टेलिकम बागलुङले फाइबर तार बिछ्याउने काम सम्पन्न गरेर सेवाग्राहीको घरघरसम्म तार टाँग्ने र डिभाइस वितरण गरी सेवाको शुभारम्भ गरेको हो । नेपालमै नमूनाका रुपमा रहेको फाइबर टु दि होमको सम्पूर्ण काम सम्पन्न भई सेवाको सञ्चालन गरिएको नेपाल टेलिकमका प्रमुख केशव शर्माले बताउनुभयो । 

सेवाग्राहीको घरघरसम्म तार तथा डिभाइस वितरण गरिसक्यौँ”, शर्माले भन्नुभयो, “टेलिकमका नयाँ ग्राहकको घरमा फाइबर सेवा शुरु भयो भने पुराना ग्राहकलाई केही दिनमै सेवा प्रदान गर्नेछौँ ।” टेलिकमले नेपालका विभिन्न ठाउँमा फाइबरमार्फत इन्टरनेट सेवा प्रदान गरे पनि बागलुङमा भने इन्टरनेट र फोन दुवै सेवा फाइबरमार्फत दिन थालिएको हो ।

पुरानो प्रविधिको कपर (तामाको तार)को प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटकपटक आउने समस्याले सेवाग्राहीले हैरानी खेप्नुपर्ने अवस्था अब अन्त्य भएको शर्माको भनाइ छ । 

अबको एक महीनाभित्र सम्पूर्ण ग्राहकलाई कपर विस्थापित गरेर फाइबरमा लगिसक्ने योजना रहेको टेलिकमले जनाएको छ । बागलुङ बजार क्षेत्रमा रहेका करीब तीन हजार बढी ल्याण्डलाइन टेलिफोन तथा सोही सङ्ख्याका एडिएसएल इन्टरनेटका सेवाग्राहीले एकैसाथ फाइबर प्रविधिको भ्वाइस तथा डाटाको सेवा लिन पाउनेछन् । पुरानो प्रविधिलाई पूर्णतः विस्थापित गरी नयाँ प्रविधि प्रयोग गरेर फाइबर सेवा दिन शुरु गरेको टेलिकम बागलुङले जनाएको छ । 

नयाँ ग्राहकलाई फाइबर सेवा प्रदान गरेर सेवाको शुभारम्भ गरे पनि अबको एक महीनाभित्र बागलुङ बजारका सबै ग्राहकलाई फाइबर उपलब्ध गराउने टेलिकम प्रमुख शर्माले बताउनुभयो । हाल बागलुङ बजारको रामरेखा तथा उपल्लचौरबाट टेलिकमले आइतबारदेखि नयाँ ग्राहकलाई फाइबर सेवा शुरु गरिएको हो । कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइबर प्रविधिको इन्टरनेट द्रुतगतिमा चल्नेछ ।

टेलिकमको नयाँ तथा पुराना ग्राहकलाई निःशुल्क डिभाइस प्रदान गरिएको टेलिकम प्रमुख शर्माले बताउनुभयो । “पुरानो प्रविधिको एडिएसएल चलाइरहेकालाई पुनःनयाँ डिभाइस किन्न समस्या हुनसक्ने भएकाले नयाँ प्रविधिका डिभाइस टेलिकमले निःशुल्क उपलब्ध गराउने अभियान शुरु गरेको छ”, शर्माले भन्नुभयो, “सेवाग्राहीले निःशुल्क डिभाइस प्राप्त गर्दा पुरानो डिभाइस विस्थापित गर्न सहज भयो ।”

हाल तामाको तारमार्फत जडिट एडिएसएल इन्टरनेट सेवा दुई एमबिपिएसदेखि ५ एमबिपिएस गतिमा मात्र चल्ने भए पनि यो प्रविधिको प्रयोग हुँदा घटीमा आठ एमबिपिएसदेखि ५५ एमबिपिएस गतिमा चल्नेछ । फाइबर जडानपछि हाल पुरानो प्रविधिमा प्रयोग भइरहेका आठ वटा तार विस्थापित भई एउटा मात्र तारको प्रयोग गरिएको छ ।

अनावश्यक तार हटाउँदा बागलुङ बजारको सौन्र्दयीकरणसमेत हुने टेलिकमले जनाएको हो । टेलिकमले बागलुङ बजारको जमीनमा अप्टिकल फाइबर बिछ्याएर छ हजारभन्दा बढी ग्राहकले लाइन तान्न मिल्ने गरी छ वटा क्याबिनेटसमेत निर्माण गरिसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!