भोलीदेखि बढाउने भनिएको इन्टरनेट शुल्क नेपाल टेलिकमले नबढाउने

Posted on: 16 Jul, 2019

असार ३१, काठमाडौँ | नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल नबढाउने भएको छ । सरकारले हालै मात्र इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेको थियो । त्यस आधारमा इन्टरनेट सेवा प्रदायकहरुले भोलि १ साउनबाट लागू हुने गरी १३ प्रतिशत महसुल बृद्धिको निर्णय गरेका छन् ।

तर नेपाल टेलिकमले भने ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी इन्टरनेट सेवाको महशुल वृद्धि नगर्ने निर्णय लिएको छ । 

सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको छ । गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क नबढाउने सहमति गरे पनि इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क सिधै ग्राहकबाटै उठाउने निर्णय गरेको हो । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले गत वर्ष गरेको सहमति सरकारले कार्यान्वयन नगरेकाले आफूहरुले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउने निर्णय गरेको बताए ।

सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको भट्टले बताए । तर सरकारले दूरसञ्चार नियमावली संशोधन नगरेकाले आफूहरुलाई धेरै आर्थिक भार परेकाले ग्राहकहरुसँग उठाउने निर्णय गरेको उनको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!