मोबाइलको लत: ‘गेमिङ डिसअर्डर’को खतरा

Posted on: 05 Aug, 2019

साउन २०, काठमाडौं । के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ ।

अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ । 

मोबाइल गेममा बच्चाहरू लिप्त हुँदै जाँदा उनीहरू त्यहाँबाट बाहिर आउनै चाहँदैनन् । यही कारण गेमिङ डिसअर्डरलाई अहिले विश्व स्वास्थ्य सङ्गठनले मानसिक रोगको श्रेणीमा राखेको मानसिक रोग विशेषज्ञ डा. प्रवास अधिकारीको भनाइ छ । 

उनले भने, “जब बच्चाहरूमा यस्तो समस्या आउन थाल्छ, उनीहरू निदाउन छाड्छन् । शारीरिक गतिविधिमा सक्रिय हुँदैनन् । खानपान अनियमित हुन थाल्छ । उनीहरू पारिवारिक र सामाजिक जीवनबाट भाग्न खोज्छन् ।

” यो अवस्थामा पुग्दा बालबालिका हिंस्रक र आक्रामक हुने बताउँदै उनले एकान्तमा मात्र बस्न रुचाउने, सधैँ उदास रहनेजस्ता समस्या देखिए अभिभावकले बेलैमा ध्यान दिन सुझाव दिए ।

बालबालिका उदास हुने, खान मन नगर्ने तथा मोबाइल धेरै हेर्ने समस्या लिएर धेरै अभिभावक आफूकहाँ आउने गरेको उनले जानकारी दिए । उनले थपे, “बच्चा फकाउन के गर्नुहुन्छ भन्दा सबैजसो अभिभावकले एउटै जवाफ दिन्छन्– मोबाइल खेलाउने ।

अर्थात् मोबाइलमा भिडियो हेर्ने वा गेम खेल्ने । अधिकांश अभिभावकको साझा समस्या हो यो । ” यो समाचार आजको गोरखापत्रमा यलु जोशीले लखेकी छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!