फेदोर रोबोट सफलतापूर्वक अन्तरिक्ष केन्द्रमा अवतरण

Posted on: 27 Aug, 2019

भदौ १०, एजेन्सी | रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा मङ्गलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो ।  फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्दछ । यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ ।

नासाका एक जना टिप्पणीकर्ताले भने, ‘सम्पर्क स्थापित भएको छ, रोबोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।’ रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पु¥याइएको जनाएको छ ।

अमेरिकी नासा टिभीले यस अन्तरिक्ष अभियानको प्रत्यक्ष प्रशारण गरेको थियो । टिभीका टिप्पणीकर्ताले अन्तरिक्ष केन्द्रमा अब सात जना पुगेको बताएको छ । यसअघि नै छ जना वैज्ञानिक अन्तरिक्ष केन्द्रमा छन् । उक्त यान गत बिहीबार दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो । उक्त रोबोट आगामी सेप्टेम्बर ७ सम्म अन्तरिक्ष केन्द्रमा राखिने जनाइएको छ | 

सोयुज यानबाट खासगरी मानिसलाई मात्र अन्तरिक्षमा पु¥याउने गरिन्छ, तर यस पटक रोबोट पठाइएको छ । यो यानमा ६७० किलोग्राम सुख्खा सामान पठाइएको छ जसमा औषधि उपकरण, खाना, औषधि र व्यक्तिगत सरसफाइका सामान रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!