मोबाइल सेट चोरिए वा हराए सजिलै ट्रयाकिङ, 'पुरानो किन्ने सचेत बन्नुहोला'

Posted on: 19 Jul, 2020

साउन ४, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन सेट ट्रयाकिङ सेवा सुरु गरेको छ । अबदेखि कसैको भेटाएको फोन खरिद बिक्री गर्नेमाथि प्राधिकरणले काराबाही गर्ने भएको छ । 

प्राधिकरणले फेला पारेको मोबाइल सम्बन्धित व्यक्ति वा प्रहरीमा नबुझाई बिक्री गरेमा कारबाही गर्ने भएको हो । हराएको फोनलाई मोबाइल ट्रयाकिङ प्रविधिबाट सजिलै ट्रयाक गर्न सकिने हुँदा भेटिएको मोबाइल फोन सेट सम्बन्धित व्यक्ति, प्रहरी कार्यालय वा प्राधिकरणमा फिर्ता गर्न नियामकले सूचित गरेको छ । 

मोबाइल फोनमा 'इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी' (आइएमइआइ)/ इलेक्ट्रोनिक सिरियल नम्बर (इएसएन)/ 'मोबाइल इक्विपमेन्ट आइडेन्टिटी' (एमइआइडी) हुन्छन्। प्राधिकरणको सिफारिसमा मात्र अहिले नेपालमा मोबाइल फोन सेटहरु आयात गरिन्छन्। तसर्थ नेपालमा आयात भएका सबै मोबाइल फोन सेटको रेकर्ड प्राधिकरणसँग रहेको हुन्छ । 

त्यसैले प्राधिकरणले कुनै पनि व्यक्तिको हराएको मोबाइल फोनसेट ट्रयाकिङ गर्नको लागि 'मोबाइल ट्रयाकिङ' सेवा सबैको लागि उपलब्ध गराएको छ। मोबाइल फोन हराउने व्यक्तिले यहाँ क्लिक प्राधिकरणमा जानकारी दिन सक्नेछन् ।

यदि कसैले मोबाइल फोनसेट भेट्टाएको छ भने फिर्ता गर्दा नै उत्तम हुन्छ। भेट्टाएको फोन सेट फिर्ता नगर्दा त्यसलाई प्राधिकरणले सजिलै ट्रयाकिङ गर्नेछ । पुरानो मोबाइल सस्तोमा भेट्टाएँ भनेर कसैले किनेमा त्यो चोरीको पनि हुन सक्छ । त्यसैले पुरानो मोबाइल किन्नेहरु पनि सचेत हुनु पर्छ। यदि चोरीको वा हराएको फोन हो भन्ने भएमा उसलाई कारबाही हुने प्राधिकरणले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!