अब सवारीको बिलबुक, लाइसेन्स र रोड परमिट हराएमा अनलाइनबाटै निवेदन दिन सकिने

Posted on: 21 Sep, 2020

असोज ५, काठमाडौँ । अब सवारीको बिलबुक, लाइसेन्स र रोड परमिट हराएमा अनलाइनबाटै निवेदन दिन सकिने भएको छ । यस अघि यस्ता सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यता रहेको थियो । अब घरमै बसेर अनलाइन फाराम भरी सेवाग्राहीले उक्त सिफारिस बनाउन सक्ने भएका छन् ।

ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन, सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दैप्रहरी प्रधान कार्यालयको सहयोगमा आजैबाट यस्तो व्यवस्थाको शुरुवात महाशाखाले जनाएको छ ।

कसरी लिन सकिन्छ ? 

सवारीको बिलबुक, लाइसेन्स र रोड परमिट हराएमा सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइट www.traffic.nepalpolice.gov.np मा गएर वेबसाइट खोलेपछि दायाँतर्फ लस्ट डकुमेन्टस एप्लिकेसन (Lost Document Application)मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आफूलाई के सेवा लिनुपर्ने हो छानेर आफ्नो विवरणको फारम भर्नुपर्छ ।


त्यसपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको स्क्यान कपि सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ । त्यसपछि माग भएअनुसार सबै विवरण सब्मिट (Submit) वा भरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ । सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सक्नेछन् । 

त्यसपछि अनलाइन प्रणालीबाटै आफ्नो काम भए.नभएको चेक गर्न सकिन्छ । सिफारिस रिपोर्ट आएपछि त्यसलाई प्रिन्ट गरेर यातायात कार्यालयमा गई आफ्नो लाईसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!