उत्तर कोरिया र रुसका ह्याकरले ‘कोरोना खोप’माथि गरे साइबर हमला

Posted on: 17 Nov, 2020

मंसिर २, एजेन्सी | विश्वभरी फैलिएको कोरोना भाइरस विरुद्धको खोप निर्माणमा लागेका कम्पनीहरुमाथि साइबर हमलाको प्रयास भएको छ | उनीहरुको डाटा चोरी गर्नका लागि रुसी र उत्तर कोरियाली ह्याकरहरु लागिरहेको माइक्रोसफ्टले जनाएको छ |

माइक्रोसफ्टका अनुसार भ्याक्सिन सम्बन्धी डाटाहरु चोरी गर्नका लागि रुस तथा उत्तर कोरियाका राज्य प्रयास गरिरहेका छन् | महामारीको खोप निर्माणमा लागेका स्वास्थ्य सम्बद्ध संस्थाहरुलाई अबरुद्ध पार्नका लागि साइबर आक्रमणको प्रयास भएको बताउंदै माइक्रोसफ्टले यस्तो साइबर आक्रमण विरुद्धमा तत्काल कदम चाल्न सरकारहरुसँग आग्रह गरेको छ |

कोरोना भ्याक्सिन विरुद्ध भएका हालसम्मका त्यस्ता साइबर आक्रमणमध्ये अधिकांस असफल भएको बताइएको छ | क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया तथा अमेरिकाका औषधि उत्पादक र भ्याक्सिन अनुसन्धाता कम्पनीहरु ह्याकरको निसानामा परेको बताइएको छ |

ह्याकरको निसानामा पर्नेमध्ये अधिकांस कम्पनीहरुले कोरोना भाइरस विरुद्धको भ्याक्सिन उत्पादनको प्रयास गरिरहेका छन् | केही महिनाअघि मात्र अमेरिकाको संघीय जाँच ब्यूरोले अमेरिकामा कोरोना भाइरस विरुद्ध चलिरहेको अनुसन्धानका डाटा चोर्न चिनिया ह्याकरहरुले प्रयास गरिरहेको बताएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!