२३३ रुपैयाँमै डिशहोमको २५ एमबीपीएस इन्टरनेट !

Posted on: 04 Jun, 2021

जेठ २१, काठमाडौं । स्याटेलाइट टेलिभिजन सेवा दिँदै आएको डिशहोमले २३३ रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट सेवा समेत दिन थालेको छ । कम्पनीले कम्बो प्याकेजको रुपमा यस्तो सेवा दिन थालेको हो ।

इन्टरनेट सेवाप्रदायकले इन्टरनेटसँगै आईपीटिभी सेवा निःशुल्क गरेपछि त्यसको प्रतिवादमा उत्रिन डिशहोमले यस किसिमको रणनीति लिएको हो । कम्बो अफरअन्तर्गत डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क रुपमा १० एमबीपीएस र मासिक २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सक्नेछन् ।

जसअनुसार वार्षिक ७२०० रुपैयाँ (मासिक ५०० रुपैयाँ) मा डिशहोम लाइफ स्टाइल प्याकेजसँगै १० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सकिन्छ । त्यस्तै वार्षिक १० हजार रुपैयाँमा (मासिक ८३३ रुपैयाँ) डिशहोमको लाइफ स्टाइल प्याकेजसँगै २५ एमबीपीएस इन्टरनेट लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए ।

कम्पनीले आफ्नो प्रिमियम प्याकेजको मूल्यसमेत मासिक ७०० रुपैयाँबाट ६०० रुपैयाँमा झारेको छ । यी प्याकेजहरु भ्याटबाहेक रहेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीको इन्टरनेट सेवा हाल काठमाडौंका प्रायः सबै मुख्य भागहरुमा, ललितपुर, भक्तपुर, बनेपा, इटहरी, हेटौंडा र इनरुवामा उपलब्ध छ । अब चाँडै नै विराटनगरमा समेत इन्टरनेट सेवा सुरु हुने भन्दै प्रबन्ध निर्देशक आचार्यले क्रमशः देशभर सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!