अब अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने, यस्तो छ तरिका

Posted on: 23 Jul, 2021

साउन ८, काठमाडौं । बागमती प्रदेशभित्र दर्ता भएका सवारीसाधनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबाटै गर्न सकिने भएको छ । त्यसका लागि बागमती प्रदेशले शुक्रबारदेखि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । 

शुक्रबार आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उक्त अनलाइन सेवाको उद्घाटन गरेका हुन् । बागमती प्रदेशभित्र दर्ता भएका मात्रै नभएर अन्य प्रदेशमा दर्ता भएका तर बागमती प्रदेशबाट कर तिरेका र नवीकरण गरेका सवारीसाधनको पनि अनलाइनबाटै कर तिर्ने र नवीकरण गर्न सकिने छ । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) र नागरिक एपबाट सवारी साधनको कर तिर्ने तथा नवीकरण गर्ने व्यवस्था मिलाएको छ ।

टिएमआईएसबाट सवारी साधन तथा सवारी धनीको विवरण प्रविष्ट गर्न तथा हेर्न, कर, दस्तुर सहितको राजश्व एकीन गर्न, अनलाइन भुक्तानी गर्न तथा अन्य तोकिए अनुसारको सेवा प्राप्त गर्न सकिन्छ ।

कसरी तिर्ने ?

मन्त्रालयले विकास गरेको यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) र नागरिक एपबाट कर तिर्न सकिन्छ । टिएमआईएसबाट कर तिर्न शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि दाँयासाइडमा सवारीधनी लगइन पोर्टल देखिन्छ ।

त्यहाँ नयाँ दर्ता भन्ने एउटा अप्सन देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् र आफ्नो विवरण राख्नेर अकाउन्ट बनाउनुहोस् । त्यसपछि अकाउन्ट लगइन गर्नुहोस् । लगइन गरेपछि त्यहाँ एउटा प्लस आईकन देखिने छ सो आईकनमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो ब्लुबुक अनुसारको विवरण थप्नुहोस् र आफ्नो प्रोफाइल अपडेट गर्नुहोस् ।

यदी विवरण मिलेन भने आफै विवरण सच्याउन पनि सकिन्छ । अब त्यहाँ भुक्तानी गर्नुपर्ने कर रकम देखिन्छ । आफ्नो सवारीसाधनको बिमा कायम रहेको नरहेको एकीन गर्नुहोस् र छैन् भने अनलाइनमै उपलब्ध भएको बिमा भर्नुहोस् । त्यसपछि कर तिर्नुहोस् भन्ने अप्सन देखिने छ त्यसमा क्लिक गर्नुहोस् ।

यति भएपछि कर तिर्नुपर्ने रकम त्यहाँ देखाउँछ । त्यसपछि कुन कार्यालयमा कर तिर्नुपर्ने उक्त कार्यालय छनोट गर्नुहोस् । अनि त्यहाँ एउटा विवरण देखिन्छ जहाँ कनेक्ट आईपीएस क्लिक गरी रकम तिर्नुहोसमा क्लिक गर्नुहोस् ।

त्यसपछि कनेक्ट आईपीएस लगइन गर्नुहोस् र कुन बैंक खाताबाट रकम तिर्ने भनेर खाता छनोट गर्नुहोस् र सबमिट गर्नुहोस् । अनि ओटिपी राखेर भुक्तानी गर्नुहोस् । रकम भुक्तानी भएपछि रसिद डाउनलोड गर्ने अप्सन देख्नुहुनेछ । उक्त रसिदमा क्युआर कोडसहित तपाईको सवारीसाधनको सम्पूर्ण विवरण हुन्छ ।

उक्त डाउनलोड गरेको रसिद तपाईको सवारीसाधनमा टास्नुहोस् । जसबाट ट्राफिक प्रहरीले मोबाइल एपबाट उक्त कोड स्क्यान गरी कर तिरे नतिरेको एकीन गर्नेछन् । यो कोड राखेपछि ब्लुबुक बोकेर हिड्नु पर्दैन् । यो सबै सेवा नागरिक एपबाट समेत लिन सकिन्छ ।  

अनलाइन भुक्तानी सम्बन्धी कार्यविधिअनुसार करको रकम अनलाइनबाट भुक्तानी गर्न सकिनेछ र उक्त बिल बुकको अद्यावधि, भेरिफाइ गर्नका लागि एक महिनाभित्र यातायाता कार्यालय पुग्नु पर्नेछ  । एक पटक भेरिफाइ गरिसकेपछि भने अर्को वर्षदेखि यातायात कार्यालय पुग्नुपर्ने छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!