गर्भ कुन समयमा कसरी यौनसम्पर्क गर्दा रहन्छ ? जानी राखौ

Posted on: 07 May, 2017

मेरो विवाह भएको चार महिना भयो । सम्भोग गर्दा वीर्य अलिकति बाहिर निस्कन्छ, भित्र बस्दैन । धेरै पटक यस्तो भैसक्यो । हामीले के गर्नुपर्छ ? बच्चा कसरी बस्छ ? कति पटक भित्र झार्ने हो र कसरी ? जहिले पनि अलिकति वीर्य बाहिर निस्कनुको कारण के होला ?

सन्तान कहिले ?

तपाईंहरू श्रीमान्–श्रीमतीले सल्लाह गरेर आफूले चाहेको बेला सन्तान जन्माउन सक्नुहुन्छ । विवाह भएको भर्खर चार महिना मात्र हुँदैछ । उमेर त लेख्नुभएको छैन, तर सन्तान जन्माउने हतार भएको हो वा होइन भन्ने कुरा पत्रमा स्पष्ट छैन ।

उमेरको कुरा गर्दा २० वर्षभन्दा पहिले सन्तान जन्माउनुलाई आमा र शिशुको स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन ।

परिवार नियोजनको अर्थ कहिले र कतिवटा सन्तान जन्माउने भनेर आफैंले लिइएको निर्णय अवलम्बन गर्नु हो तर बोलिचालीको भाषामा हामीले परिवार नियोजन गर्ने भन्नाले सन्तान नजन्माउने कुरा बुझ्छौं ।

सन्तान जन्माउन तपाईंसँग अध्ययन वा वृत्तिविकाससम्बन्धी प्राथमिकता के छन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । विशेष गरेर सन्तान जन्माइसकेपछि उसको हेरचाहमा पर्याप्त समय र धन लगाउन आवश्यक हुन्छ । त्यसका लागि तपाईं तयार हुनुहुन्छ कि हुनुहुन्न, राम्रोसँग सोचविचार गर्नुपर्छ ।

वीर्य किन बाहिर निस्कन्छ ?

पुरुषले चरमसुख (orgasm) पाउने हाराहारीमा लिंगबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen)  भनिन्छ । यही वीर्यमै शुक्रकीट(sperms)  हुन्छन् । एकपल्ट वीर्य स्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर (५ मिलिलिटर भन्नाले १ चिया चम्चा जति) वीर्य निस्कन्छ । वीर्यमा हुने शुक्रकीटको संख्या सधंै एकैनासको नहुन सक्छ । शुक्रकीटको संख्या ४ देखि १२ करोड प्रतिमिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ ।

कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिर आउँछ, यो स्वाभाविक हो । महिलालाई त्यसले कुनै असजिलो सिर्जना गर्छ भने यौनसम्पर्कपछि कुनै कपडाले पुछ्न सकिन्छ । 

अर्को कुरा, अन्डरवेयरभित्र लगाइने सानो स्यानिटरी प्याड लगाउन सकिन्छ । यदि वीर्य स्खलन योनिको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वीर्य बाहिर निस्किएजस्तो लागे पनि पर्याप्त शुक्रकीट पाठेघरको मुखसम्म पुग्छन् । 

सामान्यत: यसरी वीर्य बाहिर निस्कँदा गर्भधारण नहुने होइन । यसले त पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ । त्यसैले यस विषयमा अनावश्यक चिन्ता गर्नु पर्दैन ।

गर्भ कसरी बस्छ ?

गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित डिम्बको मिलनबाट हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ । 

यौनसम्पर्कका बेला पुरुषको वीर्य स्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बमा ती असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION)  भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE) भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।

कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं त्यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकिटसँग मिलन हुन डिम्ब निस्किएको समय हुन जरुरी छ । 

महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएकी महिलाको १४ औं दिन तिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौन सम्पर्क गर्दा गर्भ रहने संभावना एकदम धेरै हुन्छ । 

शुक्रकीट डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिन पछिको समय लाई गर्भधारणको दृष्टिकोणले असुरक्षित समय मानिन्छ । सामान्यतया महिनावारी सुरु भएको आठौं दिनमा यौन सम्पर्क गर्दा गर्भरहने सम्भावना न्यून हुन्छ ।

कसरी यौनसम्पर्क गर्ने ?

नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा करिब ८० प्रतिशत पुग्छ । यद्यपि महिनावारी ठीक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ किनभने यो भरपर्दो नहुन सक्छ । गर्भ निरोधको कुनै साधन प्रयोग नगरी एक वर्षसम्म नियमित रूपमा यौनसम्पर्क गर्दा पनि गर्भ रहेन भने कतै केही खराबी छ कि भनेर खोजतलास गर्न परीक्षण गराउनुपर्ने हुन्छ ।

माथि भनिएझैं योनिबाट वीर्य बाहिर निस्कनु सामान्य नै भएकाले कुनै विशेष यौन आसन अपनाउनु पर्दैन । तपाईं माथितिर बसेर गर्दा होस् वा तपाईंका श्रीमान्, राम्रोसँग वीर्य स्खलन भए शुक्रकीट पाठेघर हुँदै डिम्बवाहिनी नलीसम्म पुग्न सक्छ । कति पटक यौनसम्पर्क गर्ने भन्ने कुरा त तपाईंको इच्छामा भर पर्ने कुरा हो । -साप्ताहिकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!