बाघ, गैडा र हात्ती: कुन जनावरको आक्रमणबाट बच्न के गर्ने ?

Posted on: 18 Apr, 2018

चितवन निकुञ्ज आसपासमा वन्यजन्तुको आनीबानी थाहा नहुँदा कतिपय अवस्थामा मानिस आक्रमणमा पर्ने गरेका छन् । 

हात्ती, बाघ, गैँडा, चितुवा, भालुलगायत वन्यजन्तुको आनीबानी थाहा पाए दुर्घटना हुनबाट जोगिन सकिन्छ । यसप्रति सचेत हुनुपर्नेमा संरक्षणकर्मीको जोड छ । 

बाघ लजालु प्रजाति हो । मानिसलाई आक्रमण गरिहाल्दैन । एक्कासि जम्काभेट हुँदा, घाइते अवस्थामा, मान्छे खान बानी लागेको र बच्चासँग भएको बाघ बढी रिसाहा हुन्छ । यस्ता बाघसँग टाढै बस्नुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका एकजना संरक्षण अधिकृत ऋषिराम सुवेदी बताउनुहुन्छ । 


वन्यजन्तुको आनीबानीबारे बताउँदै सुवेदीले भन्नुभयो, “बाघले जहिले पनि पछाडि या अगाडिबाट घाँटीमै आक्रमण गर्छ, नजिक नजाने, नजिस्काउने, हल्ला नगर्ने, देखेपछि विस्तारैपछि हट्नेजस्ता क्रियाकलापले बाघ आफैँ तर्किन्छ ।” 

मान्छे खान पल्किएको छ भने लुसुक्क लुकेर अर्को पट्टिबाट घुमेर आक्रमण गर्ने उहाँको भनाइ छ । त्यसैले, पाइला ताजा छन्, नंग्रा फिँजारिएको, लतारिएको छ, कतैकतै रगत देखिएको छ भने त्यो क्षेत्रबाट बाहिर निस्कनु नै बेस हुने सुवेदी बताउनुहुन्छ । 

गैँडा बाघभन्दा अलि लाटोजस्तो हुन्छ । नजिक नपरेसम्म यसले आक्रमण गरिहाल्दैन । हान्न आयो भने रुखको छेक पर्दा, रुख चढ्दा या बांगोटिंगो भाग्दा बच्न सकिने एक नेचर गाईड डोमा पौडेल बताउनुहुन्छ । 

हात्ती अलि बढी चलाख हुने भएकाले हात्तीसँग भने धेरै सतर्क हुनुपर्ने उहाँ बताउनुहुन्छ । परैबाट लखेट्ने स्वभावको हुने भएकाले हात्तीबाट जोगिन नजिक नै पर्नुहुन्न । कुनै ठूलो रुख चढ्ने, कुनै खोल्सा, ठूलो लडेको रुख पार गर्न सक्यो भने हात्तीबाट केही हदसम्म जोगिन सकिन्छ । 

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक सकेसम्म वन्यजन्तुको नजिक नै जान नहुने, जानै परे सावधानी अपनाउनुपर्ने बताउनुहुन्छ । बच्चासहित हुँदा, घाइते भएका बेला तथा अन्य विभिन्न कारणले चितुवा, भालु पनि आक्रामक हुने उहाँको भनाइ छ । 

चितवन निकुञ्ज आसपास क्षेत्रमा घाँस काट्न जाँदा, निउरो टिप्न जाँदा, गाईबस्तु चराउन जाँदा वन्यजन्तुले मानिसमाथि आक्रमण गर्ने गरेको छ । कतिपय अवस्थामा वन्यजन्तुले घरमै आएरसमेत आक्रमण गर्ने गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!