पशुमा भ्यागुते रोगको संक्रमण

Posted on: 03 Jun, 2018


२० जेठ, बाँके(रासस) | डुडुवा गाउँपालिकामा पशु चौपायामा भ्यागुते रोग (घटरुवा) को महामारी फैलिएको छ । 
रोगको संक्रमणले अहिलेसम्म ६ वटा पशुचौपाया मरेका छन् भने करीब ३०० पशु बिरामी परेका छन् । गाउँपालिकाको वडा नं २ बेतहानी र वडा नंं ४ कम्दीका किसानले पालेका पशुमा एक सातादेखि रोगको महामारी देखिएको हो । 
खोप नदिएका बाहिरबाट खरिद गरी ल्याएका पशु तथा रोगी पशु मरेपछि गाउँ नजिकै अव्यवस्थित रुपमा फाल्दा रोगको संक्रमण फैलिएको गाउँपालिकाका पशु चिकित्सक अशोककुमार पाण्डेले बताउनुभयो । ज्वरो आउने, मुखबाट र्याल बग्ने, घाँटी सुन्निने र घ्यार घ्यार गरी तत्कालै पशु मर्ने गरेका छन् । 
पशुमा फैलिएको रोगको उपचार शुरु गरिएपछि अहिले नियन्त्रणमा आएको छ । भ्यागुते रोगविरुद्ध एक्सेप्ट, डेक्सोना र जिट खोप दिई उपचार तीव्र पारिएको पशु चिकित्सक पाण्डेले बताउनुभयो । यो सुई पशुलाई ६–६ घण्टामा दिइन्छ । 
गाउँपालिकाले पशुको निःशुल्क उपचार गरिरहेको छ । उपचारका लागि खटिएका छजना पशु स्वास्थ्य प्राविधिकले उपचारसँगै निःशुल्क औषधिसमेत वितरण गर्दै आएकहा छन् । गाउँपालिकाले सञ्चालन अभियानका कारण रोग नियन्त्रणमा आएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!