हस्तमैथुनपछिको लिङ्ग पीडा यौन रोग हो ? जान्नुहोस्

Posted on: 01 Dec, 2018

- डा. राजेन्द्र भद्रा

म २५ वर्षीय अविवाहित पुरुष हुँ । मैले आजसम्म कसैसँग यौनसम्बन्ध राखेको छैन । आफ्नो यौनप्यास मेटाउन मैले १४ वर्षको उमेरदेखि नै लगातार हस्तमैथुन गर्दै आएको छु । हस्तमैथुनमा चिल्लोपनका लागि म आफ्नो थूक प्रयोग गर्छु । पहिले त यो समस्या थिएन, तर अहिले हस्तमैथुनपछि कहिलेकाहीं दुखेजस्तो, पोलेजस्तो हुन्छ र पिसाब पनि छिनछिनमा लागिरहन्छ । पानी पिएपछि बिस्तारै दुख्न, पोल्न र पिसाब रोकिन छोड्छ । यो समस्याले पछि आफ्नो यौनसाथीलाई यौनसुख दिन पो सक्दिन कि भन्ने चिन्ता लाग्छ । यो यौनरोग हो कि के हो ? मैले कुनै औषधी तथा डाक्टरको सहयोग लिएको छैन । अब मैले के गर्नुपर्छ ?


तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले पुरुष यौनाङ्गका बारेमा छोटोमा चर्चा गरौं । तपाईंलाई थाहै होला, प्रमुख पुरुष यौनाङ्ग लिङ्ग, अण्डकोष थैली, अण्डकोष, पौरुष ग्रन्थि आदि हुन् । त्यसबाहेक इपिडिडाइमिस, वीर्यथैलीजस्ता अङ्गले यी यौनाङ्गका साथै प्रजनन कार्यमा सहयोग गर्छन् । लिङ्गभित्र एउटा नली हुन्छ, जसलाई हामी मूत्रनली भन्छौं । यो नली लिङ्ग मुण्डमा एउटा प्वालका रूपमा खुल्छ, जसलाई हामी मूत्रद्वार भन्छौं । 

यसले पिसाब थैलीबाट पिसाबलाई बाहिर निस्कने बाटो दिने भएकाले पनि यसको नाम मूत्रनली राखिएको हो, तर यही नलीबाटै वीर्य समेत निस्कन्छ । यो महत्वपूर्ण अङ्ग संवेदनशील हुन्छ, यसमा हुने थोरै परिवर्तनले पनि विभिन्न लक्षण देखाउन सक्छ । मूत्रनलीमा कुनै बाधा भएको, संक्रमण भएको वा गडबडी सिर्जना भएको स्थितिमा लिङ्ग दुखेको वा पोलेको अनुभव हुन सक्छ । यौन रोग लिङ्ग दुख्ने वा पोल्ने स्थितिको एउटा महत्वपूर्ण कारक हो । यद्यपि लिङ्ग दुख्ने वा पोल्ने स्थिति हुनासाथ यौनरोगका कारणले हो भन्नेचाहिँ होईन । कतिपय स्थितिमा यौन रोग नभै अन्य कारणले समेत यस्तो हुन्छ ।

किन यस्तो भएको ?

कतिपय युवकले हस्तमैथुनपछि लिङ्ग पोलेको, हल्का दुखेको वा असजिलो भएको अनुभव गर्छन् । यस्तो हरेक हस्तमैथुनपछि हुन सक्छ भने कहिलेकाहीं मात्रत पनि हुनसक्छ । यस्तो भएपछि धेरैले कतै यौनरोग लाग्यो कि अन्य केही गम्भीर समस्या सिर्जना भयो कि भनेर चिन्ता गर्न थाल्छन् ।

विशेष गरेर लामो समयसम्म लिङ्ग र त्यसमा पनि लिङ्गको टुप्पोलाई उत्तेजित गराइएको स्थितिमा यस्तो अनुभव हुने सम्भावना हुन्छ । पिसाब फेरूँ–फेरूँ लाग्छ र पिसाब फेरिसकेपछि पोल्न कम हुन्छ तर पिसाब फेरूँ–फेरूँ जस्तो भएर पिसाब फेर्न जाँदा केही थोपाभन्दा बढी पिसाब आउँदैन । 

लामो समयसम्म यौन उत्तेजनामा रहँदा विभिन्न यौनाङ्गमा रगतको बहाव बढी हुन्छ । पौरुष ग्रन्थिमा यस्तो हुँदा लिङ्गको टुप्पातिर दुखेको अनुभव हुन सक्छ । पौरुष ग्रन्थिको संक्रमणमा पनि यस्तो लक्षण देखिन सक्छ । मूत्रनलीको शोथ वा संक्रमण हुँदा पनि लिङ्ग दुख्ने, पोल्ने, पिसाब गरूँ–गरूँ जस्तो हुन्छ ।

हस्तमैथुन गर्दा वीर्यलाई बाहिर आउन नदिई रोक्दा पनि पिसाब फेरूँ–फेरूँजस्तो हुन्छ । अत्यधिक दबाब दिँदा मूत्रनलीका कोषिकामा सूक्ष्म चोट पुग्न सक्छ अनि वीर्य स्खलनका बेला मूत्रनलीको श्लेष्म (mगअगक) पखालिन सक्छ । पछि पिसाब फेर्दा मूत्रनलीको भित्री भागको प्रत्यक्ष सम्पर्कमा आउन सक्छ । वीर्य केही मात्रामा क्षारीय हुन्छ भने हाम्रो पिसाब केही अम्लीय । पिसाब फेर्दा अम्लीय पिसाबका कारणले पनि पोलेको अनुभव हुन सक्छ । 

के यौनरोग भएको होला ? 

तपाईंले उल्लेख गर्नुभएको लक्षणले मूत्रनलीको संक्रमणको संकेत गर्छ । मूत्रनलीको शोथ वा संक्रमण यौनरोगका कारणले पनि हुन सक्छ वा अन्य कारणले पनि । तपाईंलाई थाहै होला, यौनरोग वा यौन संक्रमण यौनसम्पर्कको माध्यमबाट सर्छ । यौनरोग भन्नाले विभिन्न किसिमको यौनसम्पर्कबाट सर्ने रोगहरूको समूह हो । तपाईंले अहिलेसम्म यौनसम्पर्क नगरेको कुरा गर्नुभएको छ । त्यसैले सैद्धान्तिक रूपमा तपाईंलाई यौन रोग भयो भन्न मिल्ने आधार छैन । 

समाधान के होला ?

कहिलेकाहीं त वीर्यस्खलनका कारणले पनि यस्तो लक्षण देखिन सक्छ । यो प्राय: आफैं कम भएर जान्छ । प्रशस्त पानी पिउनुपर्छ । त्यसले पिसाब पातलो बनाउन मद्दत मिल्छ, जसले पोल्ने पनि केही कम गर्छ । त्यसैले अनावश्यक रूपमा धेरै चिन्ता लिनुपर्छ जस्तो लाग्दैन । हस्तमैथुन गर्दा होस् वा यौनसम्पर्क गर्दा मूत्रनलीमा सूक्ष्म चोट नलागोस् भनेर विशेष ध्यान पुर्‍याउनुपर्छ । हामीले सरसफाइका लागि प्रयोग गर्ने साबुन होस् वा कोलोन (सुगन्धित जल) कडा किसिमको नहोस् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । 

तैपनि बिसेक भएन वा अन्य लक्षण देखियो भने भनेर विशेष चनाखो रहनुपर्छ । यस्तो स्थितिमा चिकित्सकसँग सरसल्लाह गरी उपचार गराउनुपर्छ । मूत्र प्रणालीको संक्रमण छ कि छैन भनेर पत्ता लगाउन पिसाब जाँच गर्नुपर्छ । संक्रमणको प्रकार हेरेर औषधीको सेवन ठीकसँग गरे समस्या समाधान हुन्छ । 

अन्त्यमा, तपाईंले पिसाब रोकिन छोड्छ भनेर लेख्नुभएको कुरा स्पष्ट छैन । खुलाएर लेख्नुभए पक्कै जवाफ दिन सजिलो हुने थियो । तपाईंले आफ्नो यौनसाथीलाई यौन सुख दिन नसक्ने भन्ने कुनै आधार छैन । कलिलै उमेरदेखि तपाईंमा पर्याप्त यौनेच्छा भएकाले नै त्यसलाई पूरा गर्न हस्तमैथुन गर्न थाल्नुभयो र अहिलेसम्म निरन्तरता दिँदै आउनुभएको छ । तपाईंमा लिङ्ग उत्तेजना पनि राम्रैसँग भएको हुनुपर्छ । त्यसैले अनावश्यक चिन्ता गर्न आवश्यक छ जस्तो लाग्दैन । साप्ताहिकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!