सावधान ! तपाईंको भान्सामा सिलिण्डर बम त छैन् ? आजै हेर्नुहोस् सिलिण्डरको म्याद

Posted on: 25 Jan, 2019

आजभोलि खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । उद्योगीहरुले गैरजिम्मेवार ढंगले असुरक्षित किसिमका सिलिन्डर बजारमा पठाइरहँदा आम नागरिकको भान्साहरुमा ‘सिलिन्डर बम’ ले असुरक्षा बढाएको छ ।

यस्ता असुरक्षित सिलिन्डरबारे उपभोक्ता सचेत हुन नसक्दा यस्ता घटनाहरु दिनहुँ बढ्दै गइरहेको छ । त्यसैले अब उपभोक्ता आफैं पनि ग्यास सिलिन्डरको जोखिम बुझ्न र त्यस्ता घातक बिष्फोटबाट बच्न आफैं सजग हुनु आवश्यक देखिएको छ । तपाईंले कहिल्यै ग्यास सिलिन्डरको म्याद गुज्रने मिति (एक्सपायर्ड डेट) जाँचेर खरिद गर्नुभएको छ ?  धेरै उपभोक्तालाई सिलिन्डरमा गुज्रने मिति उल्लेख हुन्छ भन्ने ज्ञान छैन । केहीले यसतर्फ थाहा पाए पनि खासै चासो दिँदैनन् ।

तर, म्याद गुज्रिएका सिलिन्डरहरु बमजतिकै जोखिमयुक्त र खतरनाक हुन्छन् भन्ने उपभोक्ताले बिर्सनुहुँदैन । सिलिन्डरको म्याद हेर्ने तरिकाबारे खासै अप्ठ्यारो छैन ।

थोत्रा र म्याद गुजि्रएका सिलिन्डरबाट ग्यास चुहिने र आगलागी तथा बिष्फोट हुने सम्भावना हुन्छ । यस्ता जोखिमयुक्त लाखौं ग्यास सिलिन्डर अहिले धेरै उपभोक्ताको भान्सामा पुगेका छन् । त्यसैकारण हरेक सचेत उपभोक्ताले ग्यास सिलिन्डरको गुज्रने मिति हेर्न आवश्यक छ ।

कसरी हेर्ने सिलिन्डरको गुज्रने मिति ?

सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् । त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् । जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २०,  लगायतका अंक लेखिएका हुन्छन् ।

अंकले वर्षलार्इ बुझाउँछ । ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३/३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् ।

‘ए’ लेखिएको अंकले वर्षको पहिलो ३ महिना जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ । ‘बी’ले अप्रिल, मे र जून महिनालाई जनाउँछ भने ‘सी’ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई संकेत गर्छ । यस्तै ‘डी’ ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई संकेत गर्छ । यस्तै ए, बी, सी, डीसँगै हुने अंकले भने वर्षलाई जनाउँछ ।


gas cylinder expiry date

माथिको तस्वीरको सिलिन्डरमा ए-२३ लेखिएको छ । त्यो सिलिन्डरको म्याद सन् २०२३ को मार्च महिनामा एक्सपायर हुन्छ भन्ने बुझ्नुपर्दछ ।

अहिले ए-२०१६ सम्मका लेखिएका सिलिन्डरको मिति सकिएको हो भन्ने उपभोक्ताले जान्नुपर्छ । यस्तै बी-२०१६ लेखिएका सिलिन्डरको म्याद अब १२ दिनमात्रै बाँकी छ । किनभने जुनमिहना सकिन अब १२ दिन मात्रै बाँकी छ । म्याद सकिएका सिलिन्डर लिकेज हुने बिष्फोट हुने सम्को सम्भावना हुने विज्ञहरु बताउँछन् ।

यस्तै एक्सपायर्ड डेट बाँकी रहेपनि सिलिन्डरका कुनैपनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्छ ।

बढ्दैछ सिलिन्डरमा खतरा

अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ ।

उद्योगले सिलिन्डरमा पहिलोपटक बनेको मितिले १० वर्षसम्मको डेट राख्न पाउँछन् ।  त्यसपछि ५/५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

यसैका कारण नेपाली बजारमा २० वर्ष भन्दा लामो आयु काटेका लाखौं सिलिन्डर छन् । नेपालका धेरै ग्यास उद्योगले २० वर्षभन्दा पुराना सिलिन्डर त प्रयोग गरिरहेकै छन् नै, ५/५ वर्षमा गर्नुपर्ने हाइड्रोलिक टेष्ट पनि गरेका छैनन् ।

उपभोक्ता सजग नभएको र सरकारको अनुगमन फितलो भएको फाइदा उठाउँदै उद्योगहरुले म्याद गुज्रिएका सिलिन्डरमा ग्यास भर्दै बजारमा पठाइरहेका छन् ।

नाकाबन्दीबा बेलामा धादिङका उद्योगहरुमा आपूर्ति मन्त्री गणेशमान पुन आफैं पुगेर अनुगमन गर्दा यस्ता म्याद गुजि्रएका सिलिन्डरमा ग्यास भरेर बजार पठाइने गरेको भेटिएको थियो ।

अझ ग्यास सिलिन्डरमा नयाँ रंग पोतेर र फलामले खोपेर लेखिएका म्यानुफ्याक्चर्ड डेट मेटेर पनि बजार पठाउने गरिएको भेटिएको छ ।  सिलिन्डर कुच्चिएर बाहिरी आकार नबिग्रिएसम्म प्रयोग गरिरहन सक्ने जोखिमलाई नेपालको कानुनले नै संस्थागत गरेको छ ।

आपूर्ति मन्त्रालयअन्तरगत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट खटिएका शाखा अधिकृतको टोलीले केहीमिहना अघि झापामा गरेको अनुगमनमा पनि यस्ता मिति गुज्रिएका थुप्रै सिलिन्डर भेटिएका थिए ।

होटलमा प्रयोग भइरहेका त्यस्ता सिलिन्डर उपभोक्ताले नदिएपछि टोलीले जफत नै गर्न सकेन । बजारमा यस्ता हाइड्रोलिक टेष्ट नभएर मिति गुज्रिएका २५ प्रतिशत सिलिन्डर हुन सक्ने आयल निगमकै अधिकारी बताउँछन् ।

‘हामीसँग ग्यास सिलिन्डरको मिति हेर्ने छुट्टै निकाय नै छैन । त्यसैले कति सिलिन्डरको म्याद गुज्रिएका होलान्, अनुमानमा भन्न सकिँदैन’ आयल निगमका एक उच्च अधिकारीले भने-‘अनुगमन र कारवाही नभएपछि मनलाग्दी हुन्छ, त्यो देखिएकै छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!