२०७५ चैत्र २४ गते आइतवार देखि ३० गतेसम्मको - साप्ताहिक राशिफल

Posted on: 08 Apr, 2019

– ज्यो. दीपक गुरु (डबल गोल्डमेडलिष्ट) 

फोन न. ९८४१२२३१२६, ९८०३८७९९७८, ०१-४४३१७४७ 

[email protected]

https://www.facebook.com/astrologerdeepakguruji

यस हप्ता सूर्य मीनमा, मङ्गल वृषमा, बुध २८ गतेसम्म कुम्भमा उपरान्त मीनमा, बृहस्पति धनुमा, शुक्र मकरमा, शनि धनुमा, राहु मिथुनमा र केतु धनु राशिमा रहनेछन् । 

मेषः

साता मध्यम उपलब्धिकर देखिएको छ । शुरुको दिन मानसम्मान प्राप्त हुने, यशकृति बढ्ने, मानसिक शान्ति मिल्ने छ । मिष्ठान्न भोजन, रमाइलो वातावरण जुट्ने छ । सोमवार मध्याह्नपछि धनोन्माद बढ्नाले सञ्चित धनको खर्च हुनगई ढुकुटी घट्नसक्ने सम्भावना छ संयम अप्नाउनु बुद्धिमानी हुनेछ ।  सामाजिक तथा परोपकारजन्य कार्यमा समय दिनुपर्ने छ । बिही र शुक्रवार शारीरिक फुर्तिफार्ति एवं उमङ्ग बढेर आउने छ । तर बढी इच्छाएको काममा अबरोध आउने छ । दैनिकी कामकार्य एवं व्यवसाय तथा पेशा आदिबाट आंशिक लाभ मिल्ने छ । शनिवार केही पारिवारिक समस्या थपिने सम्भावनालाई ग्रहगोचरले लक्षित गरिरहेको छ । वादविवादको सम्भावना भएकोले जनव्यवहारमा ख्याल पुर्याउनु बुद्धिमानी हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति एवं भैरवदेवको साथमा भगवान हनुमानवीरको उपाशना तथा श्रद्धाभक्ति गर्नु शुभदायक हुनेछ । 

वृषः

साताको शुरुको दिन पारिवारिक आवश्यकता तथा माग बढ्ने छ जसले खर्चको मात्रा पनि बढाउने छ । कामकार्यमा अबरोध एवं संघर्षको सामना गर्न पर्नेछ । संसर्गीसँग मनमुटाव हुनसक्ने भएकोले जनव्यवहारमा संयम अप्नाउनु बुद्धिमानी हुनेछ । सोमवार मध्याह्न पछि मानसिक एवं शारीरिक उमङ्ग बढ्ने छ । व्यवहारिक कर्माभ्यास बढाउन सकिने छ । रमाइलो वातावरण र मिष्ठान्न भोजनको अनुकूलता मिल्ने छ । व्यवसायिक उन्नति हुनेछ । क्रमशः सामाजिक कामकार्यमा संलग्न हुन पाइनेछ । तर बोलिव्यवहारमा अल्लि ख्याल गर्न जरुरी देखिएको छ । तर केही धनोन्माद पनि बढ्ने सम्भावना छ जसले सञ्चित धनको खर्च गराउने छ । उन्मादलाई संयम गर्नु बुद्धिमानी हुनेछ । शनिवार शारीरिक पराक्रम बढेर आउने छ । रोकिएर रहेका कामकार्य अघि बढाउन सकिने छ भने विशेष कामलाई पूर्णता दिनसकिने छ । तपाईले यो साता भगवान हनुमान एवं गुरु गणपति, माँ बगलामुखी एवं इन्द्रायणी र भैरवदेवको भक्ति स्तुति गर्नु शुभ फलदायक हुनेछ । 

मिथुनः

साता मध्यम छ । शुरुको दिन व्यवसायिक प्रगति हुने र कामकार्यमा सहज वातावरण सृजना हुनेछ । समर्थक बढ्ने छन् भने साथ सहयोग जुट्ने छ । सोमवारदेखि बुधवारसम्म घरायसी आवश्यकता बढ्ने र किनमेल आदिमा खर्च गर्नुपर्ने छ । माल समान चोरी हुने तथा हराउने भय पनि छ ख्याल गर्नु होला । कामकार्यमा दिक्कत हुने तथा संघर्ष गर्नुपर्ने पनि देखिएको छ, धैर्यता एवं व्यवहारिकताको निकै आवश्यकता देखिन्छ । तदोपरानत क्रमशः स्थितिमा सुधार आउने छ । रोकिएर रहेका कामकार्यमा सफलता मिल्दै जाने छ । उन्नति प्रगति हुनेछ । मानसिक शान्ति एवं शारीरिक स्फुर्ति बढ्ने छ । सौहार्द वातावरण बन्ने छ । क्रमशः बोलीव्यवहारको प्रभाव पर्दै जानेछ । आफ्नो व्यक्तिगतभन्दा परसेवा वा सामाजिक कार्यमा समय दिनपर्ने सम्भावनाा छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । यो साता तपाईले महावीर हनुमान, गुरुगणपति र भैरवदेवको स्तुति आराधना गर्नु शुभफल बृद्धिदायक हुनेछ । 

कर्कटः

साता सामान्यतया उपलब्धिमूलक छ । शुरुमा व्यवसायिक लाभ एवम् सफलता प्राप्त गर्नसकिने छ । उच्चतहसँगको संपर्क जोडिने र कामकार्यमा सहयोग पनि मिल्ने छ । राजनीति, समाज सेवा तथा नोकरीमा यश तथा मान बढ्ने छ । जिम्मेवारी एवं पदीय हैसियत प्राप्त गर्नसकिने छ । उद्योग धन्दा तथा पेशाकर्म फस्टाउने छ । साताको मध्यतिर बढी होस् भनेर चाहेको काममा ठेश लाग्ने तथा अबरोध आइपर्ने सम्भावना छ । बिहीवार पछि दुई दिनलाई गोचर केही अपव्ययकारक देखिएको छ । खर्च गराउने छ । घरायसी तथा पारिवारिक सरसामान, मान्यजनको दर्शनभेट् तथा असहाय वर्गलाई सहयोग गरी यो खर्चयोगको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । आकस्मिक यात्रा तथा कामकार्यमा आकस्मिक अबरोध एवं स्वास्थ्यमा समस्या पनि पर्नसक्ने छ । धैर्यधारण गर्नु तथा संयमपूर्वक जनव्यवहार गर्नु उपयुक्त हुनेछ । शनिवार पुनः स्थितिमा सुधार भएर आउने छ । तपाईलाई यो साता माँ बगलामुखी र भैरवदेवको उपाशना गर्नु शुभफल बृद्धिकर हुनेछ । 

सिंहः

साता आंशिक अनुकूल देखिएको छ । केही अपयशको बाबजुत पनि व्यवसाय तथा पेशाकर्ममा सुधार ल्याउन सकिने छ भने लाभांश बढ्ने छ । विशिष्टतम् व्यक्तित्त्वहरूसँग दर्शनभेट् मिल्दा महत्त्वाकांक्षा पनि बढेर आउनेछ । अल्लि व्यवहारिकतालाई जोडदिनु उचित हुनेछ । राजनीति तथा समाजसेवा एवं जागिर आदिमा प्रतिष्ठा एवं भूमिका र उपलब्धि मिल्ने छ । उद्योगधन्दा फस्टाउने छ र साथसहयोग पनि मिल्ने छ । विशेष काममा भने अबरोध नआउला भन्न नसकिने गोचर छ, ग्रहोपचार जनित उपाय गर्नु बुद्धिमानी हुनेछ । शनिवार खर्च बढ्ने तथा कामकार्यमा दिक्कत एवं अड्चन आइलाग्नसक्ने छ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति, माँ इन्द्रायणी एवं  महावीर हनुमान र भैरवदेवको स्तुति आराधाना उपाशना गर्नु शुभकर हुनेछ । 

कन्याः

साता क्रमशः सफलता कारक रहनेछ । आइवार स्वास्थ्यमा मन्दता रहने छ । आश्वासन पाएको तथा अपेक्ष गरेको काम बन्न तथा उपलब्धि हातपार्न अल्लि गाह्रो पर्ने छ । सोमवारबाट क्रमशः स्वास्थ्यमा सुधार आउने छ । धार्मिक एवं सामाजिक कार्यसम्पादन गर्नसकिने छ । सामान्यतया अपयशको बाबजुत काम कार्यमा अग्रता मिल्ने छ भने अन्तिममा सफाइ पनि पाइने छ । क्रमशः अबरोधको बाबजुत उच्चतह तथा निकाय वा व्यक्ति विशेषसँग परिचय बढ्ने एवं संबन्ध स्थापित हुनेछ । कैफियकर्ममा पनि मन जानसक्ने छ, संयम गर्नुपर्ला । राजनीति, जागिर तथा समाज सेवा आदिमा आंशिक सफलता मिल्नेछ । उद्यम व्यवसाय बढ्ने छ । शनिवार आकस्मिक लाभ एवं सफलता मिल्ने छ । समयको व्यवसायिक सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरु गणपति, महावीर हनुमान एवं माँ बगलामुखी र भैरवदेवको स्तुति भक्ति उपाशना गर्दै गर्नाले शुभफललाई बढाउन मद्दत हुनेछ ।  

तुलाः

साता सुधारोन्मूख रहेको छ । तथापि शुुरुमा अप्रत्यासित लाभप्रद छ । दाम्पत्य तथा प्रेम सम्बन्धमा सुधार आउने र जीवनसाथी अथवा प्रेमसाथीबाट सुख एवं साथ मिल्ने छ । सोमदेखि बुधवारसम्म स्वास्थ्यमा समस्या आउनसक्ने छ । कार्यक्षेत्रमा पनि अल्लि संघर्षको सामना गर्नुपर्ने छ । साताको पछिल्लो खण्ड अनुकूल रहने छ । क्रमशः स्थितिमा सुधार भएर आउनेछ । भाग्य बृद्धि हुनेछ । काम कार्यमा सफलता र व्यवसायिक उन्नतिको साथमा आर्थिक लाभले सन्तुष्टि पनि मिल्नेछ । विशिष्ट व्यक्ति तथा उच्चतहसँग सम्बन्ध वा संपर्क जोडिने छ । राजनीति, समाजसेवा तथा जागिर आदिमा सम्मान र जिम्मेवारी बढ्ने छ । समयको सदुपयोग गरी उपलब्धि लिनु बुद्धिमानी हुनेछ । यो साता तपाईले भगवान गुरुगणपतिको आराधना गर्नु शुभप्रद हुनेछ । 

वृश्चिकः 

साताको पूर्व र अन्तिमभाग उपलब्धिमूलक रहने छ । शुरुका दिनमा व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगइ आर्थिक लाभ एवं उपलब्धि हातपार्न सकिने छ । खेलकुद आदि प्रतिस्पर्धामा अग्रता मिल्ने छ । शारीरिक आरोग्यता एवं कान्तिमा बृद्धि हुनेछ । क्रमशः दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार एवं सहजपन आउनेछ । विपरित लिङ्गीबाट साथ मिल्ने छ । मनोरञ्जनात्मक वातावरण बन्ने छ । रमाइलो ठाऊँको यात्रा हुनक्ने छ । बुधवार साँझपछि एकाएक स्वास्थ्यमा समस्या आउनसक्ने छ, दीर्घरोगीले बढी ख्याल पुर्याउनु होला । कामकार्यमा पनि अबरोध आउनसक्ने छ धैर्य धारण गर्नुहोला । शनिवार भने स्थितिमा तसै सुधार आउने छ । केहीहद्सम्म काम कार्य एवं व्यवसायिक प्रगति हुने र सफलता मिल्नेछ । यो साता तपाईले भगवान गुरुगणपति र महावीर हनुमान एवं भैरवदेवको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन तथा शुभफल बढाउन मद्दत मिल्नेछ ।  

धनुः

साता अधिकांश पक्षमा लाभकर रहने छ । शुरुमा समयको सदुपयोग गर्न जाने विद्यार्थी भाइबहिनीहरुले पढाईमा प्रगति गर्नसकिने छ । सबैले बुद्धिविकास भई बुद्धि तथा ज्ञानात्मक पक्षमा सफलता हासिल गर्नसकिने छ । अध्यापकहरुको लागि पनि समय सफलताप्रद रहने छ । क्रमशः शरीरमा आरोग्यलाभ हुने र कान्तिमा बृद्धि हुनेछ । जोश जाँगर र प्रख्याति बढ्ने छ । खेलकुद् आदि प्रतिस्पर्धामा विजयी भइनेछ । बुधदेखि शुक्रवारसम्म रङ्गरास बढ्ने छ । प्रेम अभिलाषीहरुको लागि समय अनुकूल रहेको छ भने दाम्पत्यसम्बन्धमा मधुरता थपिने छ । लामो छोटो दुरीको भ्रमण हुनसक्ने छ । व्यापार व्यवसाय आदि पेशाकर्मबाट लाभ गर्न सकिने छ । शनिवार स्वास्थ्यमा मन्दता आउने र कामकार्यमा पनि अल्झन हुनसक्ने छ । आहार विहारमा ख्याल पुर्याउन र जनव्यवहारमा संयम अप्नाउनु बुद्धिमानी हुनेछ । यो साता तपाईले महावीर हनुमान एवं भैरवदेव तथा गुरुगणपति र माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभकर हुनेछ । 

मकरः

साताको शुरुको दिन अल्लि विपरित रहेपनि बाँकी दिनहरु उपलब्धिमूलक रहने देखिएको छ, समय एवं अबसरको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । आइतवार सामान्य अलमले एवं कसैसँग विचार नमिल्नसक्ने देखिएको छ । वादविवाद आदि झण्झटमा पर्नसकिने छ संयमित हुनुपर्ला । सोमवार मध्याह्नबाट क्रमशः स्थिति सुधार भएर जाने छ । समय र अवसरको सदुपयोग गरेको खण्डमा मानसिक एवं बौद्धिक क्षमतामा बृद्धि हुनेछ । सन्ततीको पक्षबाट सन्तोष एवं सन्तुष्टि मिल्ने छ । विद्या तथा बुद्धिज्ञानले मान्छेलाई प्रभाव पार्न सकिने छ । ज्ञानविज्ञान बढाउन सकिने छ । पेशा तथा व्यवसायिक उन्नति हुनेछ । क्रमशः आरोग्यलाभ मिल्ने छ । सर्तमा गएर विपक्षिलाई सम्झौतामा ल्याउन सकिने छ । विशेष खालको यात्रा योजना बन्ने छ । प्रेम एवं दाम्पत्य सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । यो साता तपाईले भगवान पवनपुत्र हनुमान, भैरवदेव एवं गुरु गणपति र माँ बगलामुखीको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभप्रद हुनेछ । 

कुम्भः

साता मध्यम फलदायी रहेको छ । जनव्यवहारमा प्रभाव बढेर जानेछ । सामाजिक सम्बन्धको विकास हुनेछ । व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई लाभ मिल्ने छ । शारीरिक स्फुर्ति र कामकार्यमा रुचि बढेर आउने छ । सोमवार मध्याह्नपछि सहकर्मीसँग विचारविभेदको सम्भावना छ । कार्यक्षेत्र तथा जनव्यवहारमा सावधानी अप्नाउनु पर्ला । आकस्मिक लाभ एवं उपलब्धि हुने सम्भावना पनि रहेको छ । ज्ञानोन्मामाद् बढ्नसक्ने कुरालाई पनि नकार्न सकिन्न । आवश्यक भन्दा बढी बोलिदा गोपनीयता खुस्कने र समय कटिसकेपछि पछुतो हुने समय छ । बिहीवार पछि विद्यार्थी भाइबहिनीले लेखन एवं अध्ययनमा गम्भीर हुनुपर्ला । अपखबरको पनि सम्भावना छ । शनिवार पौरख बढेर आउने छ । विपक्षीमाथि विजय प्राप्त गर्न सकिने छ । धनलाभ हुनेछ । यो साता तपाईले गुरु गणपति र भैरवदेवको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ । 

मीनः 

साताको शुरुको दिन अल्लि भौतिक फुर्तिफार्ति हुने तथा सञ्चित धनको अपव्यय हुनसक्ने कुरालाई पनि ग्रहगोचरले संकेत गरेको हुनाले संयम अपनाउनु बुद्धिमानी हुनेछ । सामाजिक कामकार्यलाई समय दिनु पर्नेछ । बोलीको अपव्यख्या हुनपनि सक्ने भएकोले ख्याल गरेर उचित ठाऊँमा उचित पात्रसँगमात्रै व्यवहार गर्नु पर्ला । सोमवार मध्याह्न पछि भने शारीरिक एवं व्यवहारिक पुरुषार्थ बढेर आउने छ । कामकार्यमा मन लाग्ने छ । व्यवसायबाट आर्थिक उन्नति हुनेछ । रोकिएर रहेका केही कामलाई फत्ते गर्न सकिने छ । बुधवार साँझपछि अल्लि चनाखो हुन र बुद्धिले कामलिन पर्ने समय छ । कामकार्यमा अबरोध गर्नेहरु अग्रसर हुनसक्ने छन् भने आलोचनाको पनि सामना गर्न नपर्ला भन्न सकिन्न । विवादको पनि सम्भावना छ । शनिवार ज्ञानविज्ञान बढ्ने, अध्ययनमा मन जाने छ । सन्तानको प्रेम बढ्नेछ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेवको साथमा भगवान सूर्यनारायण र भगवान श्रीहरिको साथमा माँ बगलामुखीको सेवा आराधना गर्नु शुभदायक हुनेछ । 

पुनश्चः 

जन्मकालमा सम्बन्धित ग्रह अनुकूल हुनेहरूलाई राशिफलमा बताइएको शुभफल बढी घट्ने र अशुभफल कम घट्ने हुन्छ । भने जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरूलाई राशिफलमा बताइएको अशुभजन्य फल बढी घट्ने र शुभफल कम घट्ने हुन्छ । 

साथै, विदेशमा हुनेहरूलाई नेपालसँग हुने समयान्तर बमोजिम पश्चिममा भए अघि र पूर्वमा भए पछि फल लाग्ने हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!