जिल्ला समन्वय समिती अछामको संयोजकमा कांग्रेस र माओवादी निर्वाचित

Posted on: 01 Aug, 2017

कमल रावल | साउन १७, अछाम | जिल्ला समन्वय समिति (जिसस) अछाममा नेपाली कांग्रेस र नेकपा माओवादिका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार १२ बजे सम्मका लागि तोकेको मनोनयन दर्ताको समयमा कांग्रेस र नेकपा माओवादिले गठनबन्धन गरि आफनो मात्र मनोनयन दर्ता भएपछि ९ सदस्यीय समिति निर्बिरोध चयन भएको हो । समन्वय समितिको संयोजकमा नेपाली काग्रेसका नरबहादुर कुँवरको मात्र उम्मेदवारी परेको छ भने उपसंयोजकमा कांग्रेसकै टोपबहादुर रावलको एक्लो उम्मेदवारी परेको छ । 

यस्तै सदस्यहरुमा शिव तिरुवा, तुलाराम साउद, सुरत बुढ्थापा, लक्ष्मी शाह र तुल्छि चलाउनेको उम्मेदवारी परेको छ । दुई सदस्य भने कांग्रेसले माओवादी केन्द्रलाई दिएको छ । माओबादी केन्द्रका तर्फबाट खकेन्द्र साउद र लक्ष्मी कुमारी सुनारको उम्मेदवारी परेको छ । कुल २० मध्ये ११ मत रहेको कांग्रेसले समन्वय समिति एकल रुपमा चयन गर्न सक्ने भए पनि केही स्थानीय तहको निर्वाचनमा दुई दल बीच तालमेल भएकाले समन्वय समितिमा पनि दुई सदस्य माओवादीलाई दिएको कांग्रेस जिल्ला सभापति भरतकुमार स्वाँरले जानकारी दिनु भयो । अछामका १० तह मध्ये ५ वटा संख्यामा जितेको एमालेले भने मनोनयन नै दर्ता गराएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!