अछाममा भेटिएको मृत चितुवा पोष्ट मार्टमपछी वन कार्यालय परिसरमै गाडीयो

Posted on: 19 Aug, 2017


भदौ ३, अछाम । अछामको साँफेबगर नगरपालिका वडा नम्बर–८ बयलपाटामा मृत अवस्थामा चितुवा फेलापरेको छ । 

शुक्रबार बिहान ७ बजे स्थानीयले मृत अवस्थामा चितुवालाई देखेपछि इलाका प्रहरी कार्यालय बयलपाटालाई खबर गरेका थिए । स्थानीयको रोहवरमा मुचुल्का बनाइ बयलपाटामा रहेको इलाका वन कार्यालयका कर्मचारीहरु र प्रहरीको टोलीले सो चितुवालाई जिल्ला वन कार्यालय मंगलसेन पुर्‍याएका थिए । 

जिल्ला पशुसेवा कार्यालयमा पोस्टमार्टम गर्दा गोली लागेर चितुवाको मृत्यु भएको पाइएको बताइएको छ । जिल्ला पशुसेवा कार्यालय अछामका वरिष्ठ पशु विकास अधिकृत डा. वेदप्रसाद भट्ट, डा. बीपी खनाल र पशु स्वास्थ्य प्राविधिक नेत्र कठायतको टोलीले उक्त चितुवाको पोस्टमार्टम गरेका थिए । 

चितुवाको टाउकोमा गोली लागेको डा. भट्टले बताए । ६४ इन्च लम्बाई र २२ इन्च उचाइ भएको सो चितुवाको महत्वपूर्ण अंगहरु छाला, दाँत, नग्रा र जुंगासहितका सबै अंगहरु भने शरीरमै भेटिएका निमित्त जिल्ला वन अधिकृत विकास शर्माले जानकारी दिए । 

पोस्टमार्टमपछि मृत चितुवालाई जिल्ला वन कार्यालयको प्रांगणमा खाल्डो खनेर गाडिएको छ । चितुवालाई गोली हान्ने व्यक्तिहरुको खोजी भइरहेको बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!