नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा पहिलो पटक महिला

Posted on: 04 Feb, 2018

कमल रावल | माघ २१, अछाम | नेपाल राष्ट्रिय शिक्षक संगठन अछामको ११ औं जिल्ला अधिवेशन नयाँ जिल्ला समिति चयन गर्दै सकिएको छ । अधिवेशनको बन्द सत्रले पहिलोपटक महिलालाई नेतृत्व दिँदै ईतिहास कायम गरेको छ । 

यस अघि महिला उपाध्यक्ष पदमा रहनुभएकी चन्द्रोदय आधारभूत विद्यालय भागेश्वरमा कार्यरत जानकी बोहरा आगामी कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको छ । दूई दिन लगाई सर्बसम्मतिबाट नेतृत्व चयन भएको नेपाल राष्ट्रिय संगठन अछामको महिला उपाध्यक्षमा यस अघि सहसचिव रहनु भएकी गीता ढुंगाना र पुरुष उपाध्यक्षमा धर्मराज साउँद निर्विरोध निर्वाचित भएका छन् । 


संगठनको सचिवमा सर्पराज जैसी रिमाल, कोषाध्यक्षमा कृष्ण विक, सहसचिवमा सकुन्तला आउजी तथा सहकोषाध्यक्ष ममता जोशी चयन हुनुभएको छ । अधिवेशनको बन्द सत्रबाट केन्द्रीय प्रतिनिधिमा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तिलक कुँवर, निवर्तमान अध्यक्ष नरबहादुर रावल, शारदा विष्ट कुँवर र नेत्र बहादुर बुढालाई छनौट गरेको छ । नव निर्वाचत पदाधिकारीलाई बन्द सत्र अध्यक्ष मण्डलका अध्यक्ष रत्नप्रसाद ढुंगानाले सफत खुवाउनुभएको थियो । 

यसअघि बन्द सत्रको पहिलो दिन शनिवार सचिव युवराज शर्माले प्रस्तुत गर्नुभएको सांगठनिक तथा समसामयिक प्रतिवेदन तथा कोषाध्यक्ष रामबहादुर शाहीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । अधिवेशन माघ १९ गते एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले उद्घाटन गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!