अछाममा छाउगोठ मृत्यु प्रकरण:मृतकका जेठाजुलाई ४५ दिन कैद

Posted on: 23 Jan, 2020

माघ ९, अछाम | मंसिर १६ गते अछाममा साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी पार्वती बुढा रावतको मृत्यु भएपछि पक्राउ परेका जेठाजुलाई जिल्ला अदालत अछामले ४५ दिनको कैदको फैसला सुनाएको छ | जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनका जेठाजु छत्र रावतलाई ४५ दिन कैद फैसला सुनाएको हो |

छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कारबाहीमा पर्ने उनी पहिलो ब्यक्ति हुन् | मृतक पार्वतीका श्रीमान् रोजगारको सिलसिलामा भारतमा रहेका र सासू ससुरा पनि घर बाहिर रहेकाले प्रहरी प्रतिवेदनका आधारमा घरमूली रहेका छत्र रावतलाई मंसिर १९ गते पक्राउ गरिएको थियो |

उनको मृत्युपछि सुदुरपक्षिममा छाउगोठ भत्काउने अभियान तिब्र बनाइएको छ | २०७३ मा महिला तथा बालबालिका कार्यालयले छाउपडि अवस्थाबारे बिश्लेषण सम्बन्धी घरधुरी सर्वेक्षण अनुसार जिल्लामा ३२ हजार ६ सय ६ गोठ रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!