सुदूरपश्चिममा बाढी पहिरोको वितण्डा: १३ जनाको मृत्यु, २८ वेपत्ता

Posted on: 20 Oct, 2021

मोहन जोशी | कात्तिक ३, धनगढी | आइतबारदेखि आएको वेमौसमी बर्षापछिको बाढी र पहिरोमा परेर सुदूरपश्चिममा १३ जनाको मृत्यु भएको  छ भने २८ वेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार डोटीका १०, डडेल्धुराका दुई र बैतडीका एक जना मृतकको सनाखत भएको छ । सनाखत भएकाहरुमा डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ नवलपुर बस्ने जोगी सार्की, ४२ वर्षीय शेरबहादुर विक, मोहन विक, पबित्रा विक, रबिन बिक रहेका छन् ।

घरमाथिबाट आएको पहिरोमा च्यापिएर उनिहरुको मृत्यु भएको प्रवक्ता चन्दले बताए । उनका अनुसार डोटीकै शिखर नगरपालिका–११ का ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ । गोपघाट बजारबाट घर जाने क्रममा पहिरोसंगै आएको ढुंगाले लागेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यसै गरी डोटीकै सायल गाउँ पालिका–५ गुरेनाडमरीका ५५ बर्षिय हिरूवा बिकको पनि पहिरोमा च्यापिएर मृत्यु भएको छ । सोही पहिरोमा परेर मृतक बिकका छोरा रमेश बिक र भतिजा भिम बिक घाईते भएका छन् । 

यसैगरी सायल गाउँपालिकाकै वडा नम्बर–६ स्थित मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जना मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुञ्जेडा र ११ वर्षीय आशिष कुन्जेडा छन् । 

अबिरल बर्षा पछि खसेको पहिरो घरमाथि पस्दा च्यापिएर डडेल्धुरामा  एक जनाको मृत्यु भएको छ । प्रवक्ता चन्दका अनुसार मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । डडेल्धुरामै खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका–३ की ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको प्रवक्ता चन्दले बताए । घरनजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको जनाइएको छ । 

अबिरल बर्षापछि खसेको पहिरो घरमाथि खस्दा बैतडीमा पनि १ जनाकाृ मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–५ बिष्टपाली बस्ने ७१ वर्षीया परुदेवी महरा रहेकी छन् । 

बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरो जाँदा २४ जना वेपत्ता भएका छन् । मंगलबार बिहान गएको पहिरोमा परेर ७ घर बगेका र २४ जना वेपत्ता भएका उनले बताए । बेपत्ता हुनेमा हाशुदेवी पार्की, आयुश पार्की, सिमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की, परभास सार्की, भुमिका सार्की, सिरन्जिबि सार्की, ईश्वरा देवी सार्की, संदिप सार्की र सबिना सार्की रहेका छन् । सोही ठाउँका सरोज सार्की, सर्मिला कुमारी सार्की, पम्मा सार्की, सुवास सार्की, बिकाश सार्की, मदन सार्की, कलु सार्की, र एलिशा सार्की पनि बेपत्ता छन् । 

यसै गरी लगातारको बर्षा पछि आएको बाढीमा परी कैलालीमा चार जना बेपत्ता छन् । वेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर रहेका छन् । कर्णालीमा माछा मार्न जाँदा बगेर उनिहरु वेपत्ता भएका हुन् । यस्तै गोदावरी नगरपालिका–८ का गणेश आउजी खुटिया खोलाले बगाउदा बेपत्ता छन् । प्रहरी प्रबक्ता चन्दका अनुसार डोटीको सायल गाउँपालिका १ रोकाया गाउँ बस्ने ७४ वर्षीय बिरे रोका स्थानीय खोलाले बगाउँदा वेपत्ता भएका छन् । लगातारको बर्षाका कारण बाढी पहिरोमा परी डोटीमा तीन, डडेल्धुरामा दुई र बैतडीमा दुई जना घाइते भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!