खेतका गरामा क्रिकेटको भबिष्य, आशालाग्दो प्रगति तर लगानी शुन्य

Posted on: 23 May, 2017

होम साउद | जेठ ९, अछाम | केही वर्ष अघि क्रिकेट के हो र कस्तो खेल हो यहाँका धेरै युवाहरुलाई जाँनकारी थिएन । तर तिन चार वर्षको अवधिमै अछामले क्रिकेट खेलमा आशालाग्दो प्रगति देखाईरहेको छ । ठुला प्रतियोगीताको उपाधिहरु उचाल्न नसके पनि खेलाडीहरुले जिल्लामा आशालाग्दो प्रगति गरिरहेका छन । 


सरकारी र निजी क्षेत्र कहिंवाट पनि क्रिकेटको विकासमा ध्याँन नपुगेतापनि युवा खेलाडीहरु खेतका गराहरुमा बालि भित्र्याईसकेपछिको खालि समय कुर्दै प्रतियोगिता आयोजना गर्छन । तिनै खेतका गराहरुमा अछामका युवा खेलाडीहरु ५० औं हजार धनराशीका जिल्ला स्तरीय प्रतियोगिताहरु आयोजना गरेर आफ्नो खेल प्रर्दशनी गरिरहेका छन । 

अछामी खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीतामा उत्कृष्ट खेल प्रर्दशन गर्ने गरेका छन । क्रिकेटमा युवाहरुको बढ्दो आर्कषण र आशालाग्दो प्रर्दशन हुदा हुदै पनि आवस्यक संरचना निर्माण र तालिम प्रशिक्षणका लागि कसैको ध्याँन जाँन सकेको छैन । 

जिल्लामा जिल्ला स्तरीय खेलमैदान भन्दै रिडिकोटको बडासैन र कालिकाको थालाकोट खेलमैदान निर्माणको चरणमा भएपनि काम हुन सकेको छैन । खेलाडीहरुका लागि आवस्यक संरचना निर्माणमा राज्य र सरोकारवालाको ध्याँन जाँन नसक्दा खेलाडीहरु निराश बन्ने गरेका छन । 

जिल्लामा क्रिकेट खेलाडीका लागि तालिम प्रशिक्षण त परको कुरा खेलाडिहरुको मनोभावना बुझ्ने कार्य समेत हुन नसक्दा प्रतिभावान खेलाडीहरु लुकेरै बस्नुपर्ने अवस्था रहेको क्रिकेट खेलाडीहरु बताउछन । अछामको क्रिकेट र खेलाडीहरुलाई खेतका गरामा खेलाएर माथि उठाउन नसकिने अवस्था रहेको अछाम क्रिकेट टिमका पूर्व कप्तान तथा प्रशिक्षक लोकेन्द्र खत्रिले बताए । उनले भने ‘टुर्नामेन्ट हुने बेलामात्रै खेलाडी खोज्ने भन्दा जिल्लामा क्रिकेटलाई सिस्टममा लिन र आवस्यक प्रशिक्षण तथा भौतिक संरचनामा लगानी गर्न जरुरी छ ।’ 

युवा खेलाडीहरुको क्रिकेट प्रतिको लगाव भने साँच्चिकै रहरलाग्दो छ । खेलाडीहरु बिभिन्न समस्याका बावजुत पनि क्रिकेट भन्ने बित्तिकै जिल्लाका जुनसुकै कुनामा र अन्य ठाँउमा पनि आफै हौसिएर जाँने गरेका छन । जहाँ सहभागि हुदा पनि अछामका खेलाडीहरुको प्रर्दशन उत्कृष्ठ रहने गरेको खेलाडी कमल रावलको भनाई छ । 


बिगतका दिनहरुमा खेलाडीहरुलाई ड्रेस लगाँउन समेत समस्या भएका उदाहरण छन । खेलाडीहरुलाई स्थानिय स्तरमा कहिले ब्यापारि त कहिले स्थानियसंग सहयोग मागेर खेल्न पठाँउनुपर्ने अवस्था रहेको अछाम क्रिकेट संघका अध्यक्ष बिष्णु स्वारको भनाई छ । स्वारका अनुसार जिल्लामा ३०÷३५ जना राम्रै खेलाडी रहेका र ६÷७ जना खेलाडी त राष्ट्रिय स्तरकै टुनामेन्टमै सहभागी भईसकेका छन । 

खेलेर जीविकोपार्जन गर्ने कुरा त परै जावस प्रतियोगिताहरु सञ्चालन गर्नका लागि पनि खेलाडीहरु आफैले प्रायोजक खोज्दै हिड्नुपर्ने अवस्था रहेकाले सोचेजस्तो प्रगती हुन नसकेको स्वारको भनाई छ । खेलाडीहरुको जागरुपताले मात्रै क्रिकेटका गतिविधीहरु भईरहेको भन्दै आर्थिक लगानी हुन नसक्नु र सरोकारवाला कसैको ध्याँन नजाँनु दुःखद भएको उनी बताउछन । 

बालि भित्र्याईसकेपछि खेतका गराहरु प्रयोग गरेर वर्षमा ३÷४ वटा प्रतियोगीता हुने अछाममा पनि १५ देखी २० वटा क्रिकेट टिमको सहभागिता रहन्छ भने हप्तौंसम्म प्रतियोगिता चल्ने गरेको छ । बैसाखको २५ देखी जेठ ६ गते सम्म मात्रै पनि अछाममा २ वटा जिल्ला स्तरिय प्रतियोगीता सञ्चालन भएका थिए । उचित खेलमैदान नहुंदा खेतका गराहरुमा प्रतियोगीता गर्नुपर्ने अछामी क्रिकेटरहरुको बाध्यता छ । 

माथिको तश्विरमा: ओलिगाँउ र मंगलसेनका खेतका गरामा जिल्ला स्तरीय खेलकुद प्रतियोगीता खेल्दै अछामका खेलाडीहरु | तश्विर: होम साउद

यस बिषयमा तपाइको प्रतिक्रिया...!