उखु कृषक उखुखेती गरेकोमा पश्चाताप

Posted on: 30 Sep, 2016

असोज १४, रौतहट । यस जिल्लाका उखु कृषक यतिखेर उखुखेती गरेकोमा पश्चाताप गरिरहेका छन् । 

उखुखेतीबाट मनग्ये पैसा आउला भनेर उखु रोपेका यस जिल्लाका कृषकले विगत तीन वर्षदेखिको रकम श्रीराम सुगर मिल्स, गरुडाबाट नपाउँदा पश्चाताप मानिरहेका छन् । जिल्लाको अधिकांश कृषक गाउँघरकै साहु महाजनबाट लिएको रकमबाट उखुखेती गर्ने गर्दछन् । 

उक्त चिनी मिल्सले दसैँको फूलपातीसम्म रु ११ करोड बक्यौता भुक्तानी गर्ने जनाएको छ । विगत तीन वर्षदेखिको बक्यौता रकम भुक्तानी हुनुपर्ने माग राख्दै कृषकले उखु उत्पादक सङ्घको अगुवाइमा पटक–पटक आन्दोलन गर्दा पनि चिनी मिल्सले बेवास्ता गर्दै आएको थियो । 

चर्को ब्याजमा ऋण लिएर खेती गर्ने र उधारोमा उद्योगलाई बेच्नुपर्ने बाध्यताका कारण कृषक उखु खेतीलाई उधारोबाली भन्न थालेका छन् । उखु बिक्रीबापतको रकम भुक्तानीमा हुने गरेको ढिलासुस्तीप्रति सरकारले विशेष ध्यान दिनु पर्ने स्थानीय कृषक रामआयोधी साहले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!