राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना कृषक पुरस्कृत

Posted on: 10 Nov, 2016

कात्तिक २५, नवलपरासी । उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना पुरस्कृत भएका छन् । कृषि व्यवसाय सञ्चालन गरी उत्कृष्ट हुन सफल भएको भन्दै जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जिल्लाका तीनजना किसानलाई जिल्लास्तरीय राष्ट्रपति पुरस्कारबाट सम्मानित गरेको हो । 

सम्मानित हुनेमा रामग्राम–१ का सनन्दन चौधरी, कुश्माका राजेन्द्र पटेल र रुचाङका खगराज गौतम रहनुभएको छ । विश्व खाद्य दिवसका अवसरमा बुधबार परासीमा आयोजित कार्यक्रममा ती किसानलाई नगद रु दश हजार र प्रमाणपत्रसहित सम्मान गरिएको हो । 

उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले सम्मान गर्नुभएको हो । 

राष्ट्रपति पुरस्कार पाउन सफल रामग्राम–१ का किसान सनन्दन चौधरीले समूहमा रहेर विगत १५ वर्षदेखि धान, गहुँको बीउ उत्पादन गर्दै अन्य खेती पनि गर्दै आउनुभएको छ । यो सम्मानले थप हौसला मिलेको उहाँले बताउनुभयो । 

यस्तै, कुश्माका किसान राजेन्द्र पटेलले धान, गहुँ, तोरी, मुसुरो, तरकारी, केरालगायत खेती गर्दै आउनुभएको छ । समय अनुसारको प्रविधि र खेतीमा जोड दिन तथा लागत कम हुने गरी खेती प्रणाली अपनाउन सकिए सफल भइने पटेलले बताउनुभयो । सम्मानित रुचाङका कृषक खगराज गौतमले दुई वर्षदेखि पशुपालनदेखि कागती, फलफूल, अदुवालगायत खेती गर्दै आउनुभएको छ । विकट क्षेत्रका किसानलाई पनि सम्मान गरिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!