माछापालनबाटै मासिक दुई लाख आम्दानी

Posted on: 26 Dec, 2016

पुस ११, भीमदत्तनगर । अन्नबालीबाट माछापालनमा जुटनुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गर्नुभएको छ । 

चार वर्षदेखि कार्की माछा फार्म स्थापना गर्नुभएका किसान कार्कीले बितेको दुई महिनामा रु १० लाख बराबरको माछा बिक्री गरेको बताउनुभयो । “बितेको दुई महिनामा करिब ४५÷५० क्विन्टल माछा बिक्री भयो”, उहाँले भन्नुभयो–“माछामा करिब ५० प्रतिशत नाफा हुन्छ ।” 

पाँच बिघा खेतमा पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछापालन गरिरहनुभएका कार्कीले सुरुवातमा दश कट्ठा खेतबाट व्यवसाय थाल्नुभएको हो । “माछापालनलाई अब आधुनिकीकरण गर्दै लैजान्छु”, कार्कीले भन्नुभयो–“यसका लागि दुई÷तीनपटक माछा पालनसम्बन्धी तालिमसमेत लिइसकको छु ।” रु दश लाखको लगानीमा भारतको कलकत्ता, कैलालीको गेटा र कञ्चनपुरको झलारीपिपलाडीमा रहेका ह्याचरीबाट करिब दुई लाख भुरा ल्याएर यो वर्ष माछापालन गर्नुभएका उहाँले भन्नुभयो–“रु दश लाखको माछा बिक्री गरिसकेँ, अझै ५० प्रतिशत माछा बिक्री हुन बाँकी छ ।” 

“धान तथा गहुँबालीभन्दा माछा पालनमा राम्रो आम्दानी हँुदो रहेछ”, कार्कीले भन्नुभयो–“माछा बिक्रीबाट भएको फाइदाले जग्गादेखि ट्याक्टरसम्म जोडेको छु ।” माछापालनबाट सन्तुष्ट कार्कीले दुईजनालाई रोजगारीसमेत दिनुभएको छ । “रु दुई सयदेखि रु तीन सय ५० सम्म प्रतिकिलो माछा बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो–“माछा खपतका लागि बजारको खासै समस्या छैन ।” उत्पादित माछा स्थानीयस्तरदेखि भीमदत्तनगर बजारसम्म खपत हुने गरेको छ । 

“म आफैँ पनि कहिलेकाहीँ माछा पु¥याउन बजारसम्म पुग्छु”, उहाँले भन्नुभयो–“धेरैजसो व्यापारी माछा किन्न फार्ममै आउँछन् ।” कञ्चनपुरमा भारतीय माछा पनि आयात भइरहेको छ । “पहिले त खेतीपातीमै थिएँ”, कार्कीले भन्नुभयो–“अन्य खेतीभन्दा माछापालन राम्रो लाग्यो ।” जिल्ला कृषि विकास कार्यालयले कञ्चनपुर माछा उत्पादनमा आत्मनिर्भर भइ नसकेको जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!