तरकारी किसानद्वारा हाट बजार सञ्चालनको माग

Posted on: 31 Dec, 2016

पुस १६, भीमदत्तनगर । कञ्चनपुर बेलौरी नगरपालिका–४ का रामबहादुर चौधरीले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेको झण्डै एक दशक पुग्यो । 

शुक्लाफाँट राष्ट्रिय निकुञ्जबाट विस्थापित हुँदै कञ्चनपुरको बेलौरी नगरपालिका–४ का दश कठ्ठा सट्टाभर्ना जग्गा पाएका चौधरीको आर्थिक अवस्था ज्यादै नाजुक छन् । उनले बेलौरी नगरपालिका–४ खिरियामा आफूसँग भएको दश कठ्ठा र थप १५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै मनग्य आम्दानी गर्न थाल्नुभएको छ । 

सिङ्गो परिवारलाई तरकारी खेतीमा समाहित गर्नुभएका उहाँले उत्पादनभन्दा पनि तरकारी खपतका लागि बजारको समस्या भएको गुणासो व्यक्त गर्नुभयो । “पहिले त गाउँसँगै जोडिएका गोकुलपुर र बेलौरी बजारमा हाट बजार हुँदा खपतको समस्या थिएन, पाँच वर्षयता दुवै हाटबजार बन्द हुँदा तरकारी बिक्री वितरणमा निकै सास्ती छ”– किसान चौधरीले भन्नुभयो । अहिले आइबीआरडी बजारमा सञ्चालित हाट बजारमा तरकारी बिक्री गरिरहेको उहाँको भनाइ छ । 

“धान र गुहँभन्दा तरकारीबाट तेब्बर भन्दा बढी फाइदा हुँदो रहेछ”–विभिन्न दाताहरुको सहयोगमा तरकारी उत्पादन तालिमसमेत लिइसक्नुभएका चौधरीले भन्नुभयो, “खुल्ला सीमाना भएकाले भारतबाट पनि तरकारी आयात हुँदा स्थानीय उत्पादन बिक्रीमा झन् समस्या भएको छ ।” 

वार्षिक रु तीन लाखको तरकारी कारोबार गर्दै आउनुभएका रामबहादुर चौधरीले तरकारी सङ्कलन केन्द्र वा हाट बजार पुनःसञ्चालनमा ल्याइदिन मागसमेत गर्नुभयो । “गाउँमा छ÷सात जनाले व्यावसायिक रुपमै तरकारी खेती गरिरहेका छौँ”–उहाँले भन्नुभयो, “बजारको समस्या ट¥यो भने ताजा तरकारी बाहै्र महिना फलाउन सक्छौँ ।” 

गाउँमै जैविक मलसमेत उत्पादन गरी तरकारी खेतीमा उपयोग गर्दै आएका तरकारी किसानहरुले रसायनिक विषादीको प्रयोगलाई समेत नियन्त्रण गरेको बताउँछन । 

विसं २०६३ देखि तरकारी खेती गर्दै आउनुभएका अमरिका चौधरीले पनि स्थानीयस्तरमा उत्पादित तरकारी बिक्रीका लागि बजारको समस्या भएको बताउनुभयो । १५ कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएका उहाँले जिल्ला कृषि विकास कार्यालयलाई पनि बन्द अवस्थामा रहेका हाटबजार सञ्चालनमा ल्याउन माग गर्दा पनि सुनुवाई नभएको गुनासो गर्नुभयो । 

वार्षिक रु एक लाख २० हजारको कारोबार हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “सबै खर्च कटाएर रु ३५ हजारभन्दा बढी नै बचत भयो, बजारको समस्या नभएको भए उत्पादन बढाउन सकिन्थ्यो ।” 

जनजागृति कृषक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त बडू हाटबजार सञ्चालनका लागि निजी क्षेत्रबाट पनि पहल हुनुपर्ने बताउनुहुन्छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!