कुलो मर्मत भएपछी सल्यान रामपुरका किसान खुशी

Posted on: 23 Jan, 2017


डिल्लीराज रावत/माघ १०, सल्यान । बर्षायाममा कुलो मर्मतका लागि दिनदिनै दुःख झेल्ने गरेका रामपुर ८ का किसानहरुमा कुलो मर्मत भएपछी खुशी छाएको छ ।

आफ्नो करिव १५ हेक्टर जमिनमा सिचाईका लागि कुलो निर्माण भएपछि उनिहरुमा खुशी छाएको हो । अरु समयमा खासै समस्या नभएपनि बर्षायाममा अहिले बनाएको कुलो पानी पर्दा फेरी उस्तै हुने समस्या झेलेका उनिहरुका लागि कुलो निर्माण भएपछि ४२ घरधुरी लाभान्वीत भएका हुन । 

जिविकोपार्जन तथा पोषण कार्यक्रम अन्तरगत नेपाल ग्रामिण पुनर्निर्माण संस्थाको सहयोगमा ६ लाख ३९ हजार ७० रुपैयाँ ४६ पैसाको लागतमा कुलो निर्माण भएको हो । कुल बजेटको लगभग ३२ प्रतिशत सम्म कालिमाटी रामपुरमा रहेको बैरेनी तरा सिंचाई उपआयोजनाका उपभोक्ताले श्रमदान गरेका छन भने अरु संस्थाले लगानी गरेको छ । 

उपआयोजनाका अध्यक्ष तिलक बहादुर घर्ती मगरका अनुसार २ बर्ष अगाडिको बर्षाले बगाएको खेतियोग्य जमिनमा सिचाईका लागि कुलो नहुदा समस्या परेका आफुलाई संस्थाले सहयोग गरेपछि सजिलो भएको बताएका छन । शारदाको बगरबाट बगाएर ल्याएको बालुवाको माटोवाला कुलोलाई जती पटक मर्मत गरेपनि बर्षामा परेको पानीले नै बगाएर लिने भएकाले किसानहरु मारमा थिए । उनि भन्छन- “खेतिपातीका लागि ठुलो खोतियोग जमिन रहेको यो फाँटमा बर्षायाममा दैनिक कुलो मर्मतका लागि खट्नुपथ्र्यो हामीले २ बर्षदेखि धेरै ठाउ चाहारेर यो कुलो निर्माणका लागि सहयोग पायौ हामी खुशी छौं ।”  


त्यस्तै कालिमाटी काल्चेका ३ वडाको लागि सिचाईमा प्रयोग हुने कौछेनी बेल्घाट सिंचाई मर्मत उपआयोजनामा बनेको कुलोले पनि करिव २४ हेक्टर जमिन सिंचित गर्नेछ । ४२ घरधुरी लाभान्वीत हुने उपआयोजना भएपछी स्थानियबासीमा विचैमा पानी चुहिएर खेर जाने हटेर कुलोको पानी खेतसम्म पुगेकोमा खुशी छाएको छ । 

नेपाल ग्रामिण पुनर्निर्माण संस्थाले जिल्ला भित्र कार्यक्षेत्र रहेका ८ गाविस १० स्थानमा सिचाई परियोजना सम्पन्न गरेको जनाएको छ । संस्थाले रामपुर ८ मा ओइरेनी सिचाई परियोेजना, लक्ष्मीपुर ८ मा ज्यामिरे पातिहाल्न सिचाई परियोजना, काल्चे ५, ६ र ७ मा कौछेनी वेलघाट सिचाई परियोजना, कुपिण्डेदह ६ मा तल्लो हर्रे सिचाई परियोजना, रामपुर ८ मा बैरेनी तरा सिचाई परियोजना, काभ्रा ९ मा कैनेखोला सिचाई परियोजना, माझकाँडा ९ मा गहरा सिचाई परियोजना र माथिल्लो बागमारे सिचाई परियोजना, कालिमाटी रामपुर ३ मा सतविसे सिचाई परियोजना र काल्चे ५ मा धाम खोला सिचाई परियोजना निर्माण गरेर संचालनमा ल्याएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!