‘कृषि साँच्चिकै पेशा बन्न सकेनँः कांग्रेस नेता घिमिरे

Posted on: 08 Feb, 2017

किसान संघको अध्यक्षमा सुब्बा

प्रकाश धौलाकोटी | माघ २६, तेह्रथुम | नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेले नेपालमा कृषि पेशा साँच्चिकै पेशा बन्न नसकेको बताएका छन् । कृषि क्षेत्र परम्परागत र निर्वाहमुखी मात्रै भएको भन्दै उनले अत्याधुनिक प्रविधि भित्राउँदै व्यवसायिक र आधुनिकीकरणको खाँचो रहेको औल्याए । 

मंगलबार गणेशमान स्मृति भवन म्याङलुङमा भएको नेपाल किसान संघ, तेह्रथुमको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले दिनभर बरालिने र पेशा के हो ? भन्दा कृषि भन्ने चलनले नेपालको कृषि क्षेत्रमा बेथिति भित्रिएको बताए । यसकारण पनि कृषि पेशा व्यवसायिक बन्न नसकेको भन्दै उनले कृषि क्षेत्रमा ठुलो जनशक्ति बेरोजगार भएर अल्मलिईरहेको बताए । 

उनले कृषि क्षेत्रबाट पनि समृद्धि सम्भव रहेको भन्दै व्यवसायिक र आधुनिक खेती प्रविधिको अवलम्बन गर्नु आजको आवश्यकता भएको बताए । उनले कृषिलाई व्यवसायिक पेशाको रुपमा विकास गर्न अगुवाई गर्न नेपाल किसान संघलाई सुझाव समेत दिएका छन् । कांग्रेस नेता घिमिरेले नेपाल कृषि प्रधान मुलुक भन्नु गलत भएको बताए । 

‘अझैपनि ५० प्रतिशत बढी जनशक्ति कृषिमा अल्झिरहेको तथ्यांक आउँछ, उनले भने, ‘तर त्यो उत्पादनमुखी छैन, नेपाललाई चाहिने खाद्यान्नदेखि थुप्रै बस्तुहरु आयात गर्नुपर्ने अवस्था छ ।’ ५० प्रतिशत जनशक्ति कृषिमा खर्चिएपनि अन्य त्यही ५० प्रतिशत जनसंख्या नै उत्पादनबाट निर्वाह गर्न नसकेको उनको तर्क छ । ‘कृषिमा पनि समृद्धि सम्भव छ, नेता घिमिरेले भने, ‘तर आधुनिकीकरण र व्यवसायिक बनेर मेहिनेत गर्नुपर्छ ।’ 

कामै नगर्ने, अनि पेशा चाँहि कृषि हो भनेर भन्ने चलन छाड्नुपर्ने उनले सुझाए । उनले थोरै जनशक्तिले धेरै उत्पादन गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानतर्फ सबै किसानलाई लाग्न आग्रह गरे । उनले पछिल्लो समय आधुनिकीकरणका नाममा अत्यधिक रासायनिक मलको प्रयोग हुन थालेको भन्दै त्यसबाट समेत जोगिन अनुरोध गरे । 

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा सभासद सीता गुरुङले  पनि कृषि क्षेत्रबाट नेपालमा थुप्रै सम्भावना भएको भन्दै कृषि आधुनिकीकरण जरुरी भएको बताइन् । उनले नयाँ संविधान जारी भएसँगै सरकार र राज्यका विभिन्न निकायबाट कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको भन्दै सचेत रहन आग्रह गरिन् ।

 कार्यक्रममा सभासद गणेशप्रसाद विमली, कांग्रेस जिल्ला सभापति गोविन्द्रप्रसाद ढुंगाना लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए । अधिवेशनले नारायण सुब्बाको अध्यक्षतामा १३ सदस्यीय नेपाल किसान संघ, जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा काजिमान लिम्बु, सचिवमा फौदबहादुर सुवेदी, कोषाध्यक्षमा विजय कन्दङवा चयन भएका छन् । 

समितिको सदस्यहरुमा भोला कार्की, डोलेश्वर लिम्बु, लिलानाथ आचार्य, प्रेमप्रसाद भट्टराई, हरिप्रसाद अधिकारी, चेमनकुमारी दाहाल, प्रकाश चोङवाङ, हेम लुङ्वा, भेषराज लिम्बु रहेका छन् । यस्तै अधिवेशनले केन्द्रिय प्रतिनिधिमा जयप्रसाद ढुंगाना, दुर्गाप्रसाद फुयाल, जयन्तीमाला फुदोङ, काजीमान लिम्बु, डम्बर लोहारलाई चयन गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!